s

४३ जना नेपालीलाई कसरी पुर्‍याइएको थियो कश्मिर?

भारतको कश्मिर पुर्‍याएर तीन महिनासम्म बन्धक बनाइएका ३६ जना नेपाली गत जेठ ४ गते घर आइपुगे।

मंगलबार ( जेठ १ गते) दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था किन इण्डियाको समन्वयमा उनीहरूलाई उद्धार गरेर स्वदेश ल्याइएको हो।

उद्धार गरिएकाहरू धनुषा, महोत्तरी र सर्लाही जिल्लाका छन्।

उनीहरूलाई कसरी कश्मिर पुर्‍याइयो र उद्धार भयो भनेर हामीले उद्धार गरिएका र भागेर आएकासँग कुरा गरेका छौं।

माघको पहिलो साताको कुरा हो।

धनुषा मिथिला नगरपालिका वडा नम्बर ९ का रञ्जित चौधरी वैदेशिक रोजगारीका लागि मलेसिया जाने तयारी गर्दै थिए। त्यसैले उनी गाउँ–घरतिरै ज्याला मजदुर गरेर दिन बिताइरहेका थिए।

गाउँभरि भारतमा काम गर्न जानेहरूको चहलपहल बढ्यो। रञ्जितले पनि साथीहरूको माध्यमबाट भारतको जम्मुमा नाला बनाउने काममा राम्रो तलब दिने कुरा थाहा पाए। साथीहरूको माध्यमबाट बर्दिवास घर भनेर भनिएका दुई युवासँग फोनमा कुरा गरे।

'आफू विदेश जान लागेको र भिसा आउनबित्तिकै फर्किनुपर्ने कुरा सुनाए,' उनले भने, 'उनीहरूले भिसा आउनेबित्तिकै फर्काइदिने भएपछि काममा जान राजी भएको थिएँ।’

काममा जाने पक्का भएपछि चार हजार भारू (७ हजार नेपाली रूपैयाँ) दिइएको थियो। उनीहरूले भनेअनुसार त्यो सात दिनको ज्याला हो।

उनीहरूले एक दिनको ज्याला १ हजार १ सय रूपैयाँ दिने बताएका थिए। गाउँघरमा ६ सयदेखि एक हजारसम्म ज्याला दिन्छन्। तर सधैं काम हुँदैन।

उनीसँगै गाउँका १२-१५ जना जान तयार भएको उनले बताए। उनीहरू माघ २४ गते घरबाट हिँडेका थिए।

उनीहरूलाई लिन घर-घरमै गाडी आइपुगेका थिए। एक लाख २० हजार रूपैयाँमा बस रिजर्भ गरिएको बताइएको थियो।

लगातार चार–पाँच दिनको यात्रापछि जम्मु पुगे। जम्मुबाट ४ वटा माइक्रोबस रिजर्व गरेर कश्मिर पुर्‍याइएको उनी बताउँछन्। 'जम्मु भनेर हामीलाई कश्मिर पुराइयो,' उनले भने, 'आइपुग्न लाग्यो भन्दा-भन्दै कश्मिर पुराइएको थियो।'

उनकाअनुसार त्यहाँ पुगेको पहिलो दिन एउटै कोठामा भोकै सुताइयो। भोलिपल्ट बिहानै नागरिकता र मोबाइल खोसेर राखियो।

काममा मोबाइल प्रयोग गर्न नदिइने भनेर लिइएको भनिएको थियो। तर दुई–तीन दिनसम्म फिर्ता दिएनन्। माग्दा गाली गर्ने तथा कुटपिट गर्ने गरेको उनको भनाइ छ।

'नालाको काम भनेर अन्य ढलानको काममा लगाइयो,' उनले भने, 'विस्तारै उनीहरूले भनेअनुसार काम नगर्दा कुटपिट गर्ने र खाना पनि दिएनन्।'

उनले थपे, 'केही भनिहालेमा कुटपिट गर्ने गरेका थिएँ।' उनले भनेअनुसार उनले पनि धेरै पटक पिटाइ खाएका थिए।

पिटाइ सहन नसकेर धेरै साथीहरू भाग्ने प्रयास गरेका थिए। तीमध्ये केही व्यक्तिहरूमात्र सफल भएको उनी बताउँछन्। यदि साथीहरू भागेर घर नफर्किएको भए आफू फर्किन नपाउने उनको भनाइ छ।

भागेर घर फर्किन सफल भएका दुई युवा हुन्, धनुषा मिथिला नगरपालिका-९ का २० वर्षीय चन्दन मण्डल र महोत्तरीका २१ वर्षीय सरोज सरदार। चन्दन गाउँघरतिर ज्याला मजदुरीको काम गर्ने गरेका थिए। उनलाई पनि साथीहरूले नै जम्मु जाने प्रस्ताव गरेका थिए।

'तीन छाक खाएर दिनको एक हजार एक सय रूपैयाँ दिने भनेपछि नकार्न सकिनँ,' चन्दनले भने, 'यहाँ काम पनि पाइएको थिएन। यतिकै बस्नुभन्दा जान उचित लाग्यो।'

गाउँका साथीभाई चिनेजानेका मान्छे पनि जम्मु जाने भएपछि घरबाट पनि रोकटोक भएन। काम गर्न जान्छु भन्दा परिवारले यसै पनि नरोक्ने उनको भनाइ छ।

गाउँबाट टोलीले लगेका थिए। त्यसैले समस्या भोग्नुपर्ला भनेर नसोचेको उनले बताए।

उनकाअनुसार, एक साताको अग्रिम ज्याला दिइएको थियो। 'लिन बस आएको थियो। बसमा गइयो। यात्राको क्रममा कुनै समस्या भोग्नु परेन,' उनले भने।

उनलाई पनि रञ्जितलाई जस्तै त्यहाँ पुर्‍याइएको दोस्रो दिन मोबाइलहरू खोसेर राखियो। दुई–तीन दिनसम्म राम्रै व्यवहार गरेका थिए। मोबाइल माग्ने र फरक काम भएको भनेर सोध्न खोज्दा कुटपिट गर्न थालेको उनी बताउँछन्।

'फोन गरेर गुनासो सुनाउने ठाउँ पनि थिएन, एक महिनासम्म कुटपिट सकेर भए पनि काम गर्‍यौं,' उनले भने, 'समयमा खान नदिने, परिवारसँग कुराकानी गर्न नदिने, १३–१४ घन्टासम्म काममा लगाउने गरेपछि त्यहाँ बस्न गाह्रो भयो।'

उनीहरूलाई निर्माण क्षेत्रमा काममा लगाइएको थियो। घर बनाउने, ढलान गर्ने प्रकृतिका कठिन श्रम गर्नुपर्थ्यो। रातिको समयमा टर्च बालेर पनि काम गराउने भएपछि उनी त्यहाँ बस्नै सकेनन्। साथीभाइसँग गफगाफ गर्ने समय पनि मिलेन।

एकमहिना दु:ख सुखले बित्यो। चन्दनलाई कसरी त्यहाँबाट निस्किने भन्ने कुराले पिरोल्न थाल्यो। उनले मिल्ने त्यहाँ सरोज सरदारलाई फुर्सद हुँदा कुराकानी गर्न थाले।

असह्य भएपछि चन्दन र रञ्जितले भाग्ने सोचे। तर उनीहरूले सोचेजस्तो भाग्न सजिलो थिएन। चौबिसै घन्टा उनीहरूमाथि निगरानी हुन्थ्यो। एक आपसमा धेरैबेर कुरा गर्न पाउँदैनथे। राति सुत्नेबेला र खाजा खानेबेला इशारा इशारामा कुरा गर्थे।

‍छोटो कुराकानी र इशारामै उनीहरूले भाग्ने योजना बनाए।

एक दिन झिसमिसे रातमा उनीहरू शौचालय जान लागेको जसरी निस्किए। उनीहरूमाथि निगरानी गर्नेहरू बाहिर चुरोट पिउँदै गफ गर्दै थिए। त्यही मौका छोपेर त्यहाँबाट निस्किए।

'डर त बेस्सरी लागेको थियो। भाग्न खोजे वा भागेमा मारिदिने धम्की दिएका थिए। हामी पछाडि नफर्की दौडियौं,' चन्दनले भने।

मध्यरातमा अरूको घरको आँगनमा सुतेर उज्यालो नहुँदै त्यहाँबाट हिँडेको उनले बताए।

'दोस्रो दिन बाटोमा भेटिएका मान्छेहरूसँग आफ्नो समस्याहरू सुनायौं। धेरैले वास्ता गरेनन्। १०–१५ जनासँग सहयोग मागेपछि एकजना पुरूषले मलाई पाँच सय भारू र सरोजलाई डेढ सय भारू दिएका थिए,' चन्दनले भने।

त्यही पैसाले आधाबाटो हिँडेर, आधा बाटो बस चढेर कश्मिर आइपुगेको उनी बताउँछन्। उनीहरू जम्मु आइपुग्दा तीन–चार दिन बितिसकेको थियो।

'दुई–तिन दिन हिँड्यौं। हिँड्दै गर्दा जहाँ रात पर्‍यो त्यही बास मागेर बस्दिन्थ्यौं। बास दिएनन भने पेटीमा बस्यौं,' चन्दनले भने।

उनले थपे, 'आर्थिक संकलन गरेर १४ दिनको दिनमा घर आइपुग्यौं।' चन्दन र सरोज डेढ महिना अघि गाउँ आइपुगेका थिए।

उनीहरूले नै गाउँका युवालाई बन्धक बनाएर राखिएको भनेर बताएका थिए। त्यसपश्चात् स्थानीय सरकार, अभियन्ता र प्रहरीले उनीहरूलाई उद्धार गर्नका लागि पहल गरेको उनी बताउँछन्।

चन्दन र सरोज भागेपछि अन्य चार–पाँच जना पनि भागेका रहेछन्।

५/६ जनै भागेपछि बाँकी रहेकाहरू माथि अझै अत्याचार बढेको थियो।

'भाग्नेहरू भागि हाले त्यहाँ बस्नेले थप यातना सहनुपर्‍यो,' सर्लाहीका २४ वर्षीय दिनेश पासवानले भने, 'कुटाइ खानुपरे पनि गाउँमा खबर पुग्यो होला कि भन्ने आस चाहीँ थियो।'

उनी पनि त्यहाँ गरिएको व्यवहार र कुटाइ सहन नसकेर भाग्ने सोच आएको थियो। साथीहरू भागेपछि अझ कडाइ भएकाले आफू त्यही बस्नुपरेको उनी बताउँछन्।

'ज्यान माया मारेर तीन महिना काम गरियो, सात दिनको मात्र ज्याला पाइयो,' उनले भने, 'सात दिनको ज्याला भनेर गाउँमै सात हजार रूपैयाँ दिइएको थियो। त्यो बाहेक एक रूपैयाँ पाएको छैनौं।'

रञ्जित, चन्दन र दिनेश मात्र होइन त्यहाँ पुगेका ४३ जना नेपालीले यो समस्या भोग्नुपर्‍यो। उनीहरूलाई त्यहाँ बन्धक बनाएर काममा लगाएको थियो।

भागेर गाउँ आइपुगेका चन्दन र सरोजले नै गाउँको मानिसलाई बन्धक बनाइ कुटपिट गरेर काममा लगाइएको सूचना स्थानीय, जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए।

नेपालीलाई कश्मिरमा बन्धक बनाएर काममा लगाएको थाहा पाएपछि सामाजिक अभियन्ता सरोज रायले भारतको दिल्ली पुगेर किन् इन्डियाको निर्देशक नवीन जोशीलाई भेटेर त्यसबारेमा जानकारी दिएका थिए।

वैशाख १९ गते किन् इन्डियालाई सूचना प्राप्त भएको थियो। सूचना प्राप्त भएसँगै प्रशासनिक कागजात मिलाएर क्राइम ब्रान्चको टोली लिएर २५ गते साँझ कश्मिर पुगेको किन् इन्डियाको निर्देशक नवीन जोशीले जानकारी दिए।

'हामीले २६ गते बिहान ४ बजेतिर घटनास्थलमा पुगेर ३६ जनालाई उद्धार गरेका हौं,' निर्देशक जोशीले भने, 'स्थानीय प्रहरीलाई पनि अन्तिम समयमा मात्र खबर गरेका थियौं।'

उनकाअनुसार उद्धार गरिएका ३६ जनामध्ये एकजना ३५ जनलाई मात्र नेपाल आइपुगेका छन्। उद्धारपश्चात उनीहरूलाई कश्मिरको मानव बेचबिखन अनुसन्धान ब्युरोमा राखेर कानुनी प्रक्रिया अगाडि बढाइएको हो।

उनीहरूलाई राम्रो तलबको प्रलोभन देखाइ, बन्धक बनाएर कुटपिट गरी जबरजस्ती काममा लगाएको आरोपमा मानव बचेबिखन तथा ओसार पसारको मुद्दा दर्ता भएको छ।

'मुद्दा दर्ता भएसँगै ३६ जनाकै बयान लिइएको छ भने दुई जना पक्राउ परेका छन,' निर्देशक जोशीले भने।

पक्राउ पर्नेमा बिहार अररियाका ३२ वर्षीय मुख्तकिम आलम र ३२ मो साजाद छन्।

'पक्राउ परेका व्यक्तिको आफन्त १८ वर्षभन्दा मुनिका एक बालक पनि त्यहाँ काम गर्न गएको पाइयो। त्यसले उनी पनि संलग्न छन् भनेर नियन्त्रणमा राखिएको हो। त्यसैले ३५ जना मात्र घर फर्किएका हुन्,' उनले भने।

उनीहरूले बयान गर्ने क्रममा आफूले तीन महिनासम्म काम गरेको भुक्तानी पाउनुपर्ने माग पनि राखेका छन्। यस घटनामा कश्मिरमा मुद्दा चलिरहेको छ।

'के हुन्छ भनेर भन्न सकिदैन,' उनले भने।

यस घटनामा संलग्न दुई जना जमाल मन्सुरी र मलिम मन्सुरीलाई प्रहरीले खोजिरहेको छ।

Published on: 22 May 2024 | Setopati

Link

Back to list

;