s

अमेरिकी युवा सञ्जालमा नेपाली सचिव

नेपाली मूलका एचबी भण्डारी अमेरिकामा डेमोक्र्याट पार्टीको युवा सञ्जाल 'योङ डेमोक्र्याटस् अफ अमेरिका -वाईडीए)' को अल्पसंख्यक विभाग सचिव निर्वाचित भएका छन् । पर्वतको थापाथानमा जन्मिएका भण्डारी बाल्टिमोर सिटी कम्युनिटी कलेजमा प्राध्यापन गर्छन् । 

टेक्सास राज्यमा आइतबार सम्पन्न वाईडीएको सम्मेलनमा भण्डारीलाई निर्वाचित गराउन महिला सञ्जालकी उपसभापति एवं भारतीय मूलकी अमेरिकी राजनीतिज्ञ मरिगा रावले समर्थन र मेरिल्यान्डका मारिस सिम्प्सन प्रस्तावक थिए । भण्डारीले क्यालिफोर्नियाका डेजोरालाई पराजित गरेका थिए । उनी मेरिल्यान्ड राज्यबाट सम्मेलन प्रतिनिधि थिए ।

सञ्जालको अल्पसंख्यक विभागमा अश्वेत, हिस्पानिक र एसियाली मूलका अमेरिकी संलग्न हुन्छन् । टेक्सासको सान एन्टोनियोमा आयोजित चारदिने सम्मेलनमा ५० राज्यबाट १ हजार युवा सहभागी थिए । अमेरिकाभर करिब १५ सय च्याप्टर र १ लाख ५० हजार सक्रिय सदस्य रहेको उक्त सञ्जाल विशेषगरी युवा परिचालन र युवा केन्दि्रत एजेन्डाका लागि डेमोक्र्याट पार्टीको प्रमुख संगठन मानिन्छ । 

केही वर्षयता डेमोक्र्याट पार्टीअन्तर्गत बाल्टिमोर काउन्टीमा सक्रिय भण्डारीले सन् २००८ र ०१२ को राष्ट्रपतीय निर्वाचनमा बाराक ओबामाका पक्षमा प्रचारप्रसार गर्न उनले विभिन्न राज्य पुगेर सक्रियता जनाएका थिए । 

भण्डारीको कार्यकाल २ वर्षको हुन्छ । तत्काल आफ्नो ठूलो राजनीतिक महत्त्वाकांक्षा नभए पनि अल्पसंख्यक समुदायका लागि राजनीतिक र सामाजिक पहुँच बढाउन सक्रिय र प्रयासरत रहने भण्डारीले बताए ।  

Published on: 17 August 2013 | Kantipur

Back to list

;