s

४२ प्रतिशत महिला व्यक्तिगत श्रमस्वीकृतिमा विदेश

व्यक्तिगत श्रमस्वीकृतिमा वैदेशिक रोजगारीमा जानेमा पुरुषभन्दा महिला धेरै रहेको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार ८५ प्रतिशत पुरुष कामदार म्यानपावर कम्पनीमार्फत नै जाने गरेका छन्, तर महिला कामदार भने ४२ प्रतिशत व्यक्तिगत श्रमस्वीकृतिमा वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
 
विभागको तथ्यांकअनुसार पछिल्लो ८ वर्षमा मात्रै १ लाख ६० हजारभन्दा बढी महिला कामदार वैदेशिक रोजगारीमा गएका छन् । त्यसमध्ये ४१ दशमलव ६५ प्रतिशत भने व्यक्तिगत रूपमा श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । जबकि सोही अवधिमा वैदेशिक रोजगारीमा गएका ३१ लाख २४ हजार ९ सय ७ जना पुरुष कामदारमध्ये १५ दशमलव ३७ प्रतिशत मात्रै व्यक्तिगत श्रमस्वीकृतिमा वैदेशिक रोजगारीमा गएका थिए ।
 
महिला मृत्युको प्रमुख कारण ‘आत्महत्या’
 
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको पछिल्लो ९ वर्षको तथ्यांकलाई मात्रै आधार मान्ने हो भने वैदेशिक रोजगारीका क्रममा १ सय २७ जना महिला कामदारको ज्यान गएको छ । त्यस्ता अधिकांश मृत्युमा प्रमुख कारण आत्महत्या उल्लेख छ । आर्थिक वर्ष ०६५/६६ देखि ०७३/७४ को अवधिमा ४३ जना महिला कामदारले आत्महत्या गरेको बताइएको छ । त्यसबाहेक सडक दुर्घटनामा १५, कार्यस्थलको दुर्घटनामा ११, मुटुरोगबाट १२ र हृदयाघातबाट ८ जना महिला कामदारको मृत्यु भएको छ । यसैगरी २४ जनाको मृत्युको कारण स्वाभाविक भनिएको छ भने १४ जनाको मृत्युको कारण नै पहिचान हुन नसकेको दाबी गरिएको छ ।
 
के भन्छन्, सरोकारवाला ?
श्रमस्वीकृतिमा महिला बेचबिखन भइरहेको हुन सक्छ
दीपेन्द्रविक्रम थापा, पूर्वश्रमसचिव
 
वैदेशिक रोजगारी आफैँमा पुरुषको तुलनामा महिलाका लागि बढी जोखिम र संवेदनशील विषय हो । तर, पुरुषको तुलनामा धेरै महिला कामदार व्यक्तिगत श्रमस्वीकृतिमा विदेश जानु अस्वाभाविक देखिन्छ । गाउँका महिलाको विदेशको रोजगारीमा सोझै पहुँच सम्भव हुनै सक्दैन । व्यक्तिगत श्रमस्वीकृतिका आधारमा महिलालाई विदेश पठाउने कार्यमा मानव तस्कर नै सक्रिय रहेका हुन सक्छन् । यस विषयमा गम्भीर अनुसन्धान आवश्यक छ ।
 
नाता प्रमाणितविना श्रमस्वीकृति दिनुहुन्न
रोहन गुरुङ, अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघ
 
व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जानु आफैँमा आपत्तिको विषय होइन । तर, त्यसरी जाने व्यक्ति स्वयं जिम्मेवार हुनुपर्छ । केही वर्षअघि एकाघरको नाता खुलेका आधारमा मात्रै विभागले श्रमस्वीकृति दिने गरेको थियो । तर, पछिल्लो तीन–चार वर्षयता भने त्यसको पालना हुन सकेको छैन । जसका कारण एकाघरबाहेकका व्यक्तिमार्फत विदेश जाने महिलाको संख्या ९० प्रतिशतमाथि छ । वैदेशिक रोजगारीमा व्यक्तिगत रूपमा जाने महिला कामदारको संख्या बढी रहेको भए पनि त्यसमा व्यवसायीहरू भने सहभागी छैनन् । त्यसमा एनआरएनएका खोल ओढेका, कन्सल्टेन्सी सञ्चालक, होटेल व्यवसायीहरू संलग्न छन् । नाता प्रमाणितविना व्यक्तिगत श्रमस्वीकृति दिन नहुनेमा हामीले निरन्तर जोड दिँदै आएका छौँ ।
 
व्यक्तिगत रूपमा महिला बढी जानु आफैँमा अस्वाभाविक छ
शशि लम्साल, 
निर्देशक, वैदेशिक रोजगार विभाग
 
सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासबाट प्रमाणित गरेको भिसाका आधारमा मात्र व्यक्तिगत श्रमस्वीकृति जारी गर्ने गरिएको छ । यस आधारमा व्यक्तिगत श्रमस्वीकृतिमा जाने महिला र पुरुषको अनुपात उस्तै हुनुपर्ने हो । तर, व्यक्तिगत श्रमस्वीकृतिमा विदेश जाने कामदारमा महिलाको संख्यात्मक अनुपात ३ गुणासम्म बढी देखिनु अस्वाभाविक हो । यस विषयमा हामी संवेदनशील हुनुपर्ने देखिएको छ ।
 
Published on: 4 May 2018 | Naya Patrika

Back to list

;