s

४१ तिब्बती पक्राउ

शिवराज भट्ट/शम्भु कट्टेल 
 
धनगढी/काठमाडौः कैलाली प्रहरीले राहदानी र प्रवेशाज्ञा (भिसा) नभएका ४१ तिब्बतीलाई भारत प्रवेश गर्न लाग्दा पक्राउ गरेको छ । काठमाडौंबाट बडिमालिका ट्राभल्सको बा ३ ख २३२० नम्बरको गाडी रिजर्भ गरी चार दिन लगाएर उनीहरू कैलालीको गौरीफन्टा पुगेका थिए ।
 
उक्त नाकाबाट भारत प्रवेश गर्न लाग्दा धनगढीस्थित अध्यागमन कार्यालयले उनीहरूलाई सोमबार अपराह्न नियन्त्रणमा लिएको हो । उनीहरू कहिले र कुन प्रयोजनका लागि कुन नाका भएर नेपाल प्रवेश गरी त्यहाँ पुगे भन्नेबारे गृह मन्त्रालय बेखबर रहेको पाइएको छ ।
 
गैरकानुनी रूपमा नेपाल हुँदै भारत छिर्न लागेका तिब्बतीहरू पक्राउ परेपछि नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय कैलालीलाई भारत प्रवेश गर्न दबाब दिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । अध्यागमन विभागले ती तिब्बतीसँग राहदानी, भिसा र भारत प्रवेश गर्ने अनुमति (एक्जिट पर्मिट) नभएको भन्दै रोकेको हो ।
 
यूएनएचसीआरले गैरकानुनी रूपमा नेपाल प्रवेश गरेका तिब्बतीहरूलाई ‘टिबटियन न्यु एराइभल' का लागि अध्यागमन विभागमा पठाउने गर्छ । यही प्रक्रिया पूरा गर्न दुई दर्जन बढी तिब्बतीको फाइल अध्यागमनमा पठाएको छ ।
 
ती तिब्बतीहरू प्रहरीलाई छल्दै काठमाडौंबाट हिँडेको चार दिनपछि धनगढी पुगेका थिए । उनीहरू कहाँ-कहाँ बास बसेर कुन बाटो भई त्यहाँ पुगे भन्ने जानकारी पनि गृह मन्त्रालयसँग छैन ।
 
कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले गाडीभरिका तिब्बती नागरिकसँग पासपोर्ट र भिसा नभएकाले पक्राउ गरिएको बताए । धनगढीको मिलनचोकमा रहेको अछाम बर्दादेवी होटलमा खाना खाएर गौरीफन्टा नाका भएर भारतिर जान लागेका बेला प्रहरीलाई सूचना आएको र त्यसपछि ४१ जना तिब्बती नागरिकलाई पक्रेको एसपी बिष्टले बताए ।
 
पक्राउ परेका तिब्बतीमध्ये केहीसँग भारतीय भएको आइडी कार्डबाहेक आवागमनका लागि चाहिने कुनै पनि प्रमाण नभएको प्रहरीले जनाएको छ । ‘उनीहरूसँग पासपोर्ट भिसालगायत नेपालमा आवागमन गर्ने कुनै कागज भेटिएन, अनि पक्राउ गरिएको हो', एसपी बिष्टले भने ।
 
गैरकानुनी रूपमा नेपाल प्रवेश गरेका तिब्बतीहरूलाई अध्यागमन विभागको जिम्मा लगाउने तयारी भइरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।
 
‘नेपालमा प्रवेशाज्ञाबिना चिनियाँ नागरिकले आवागमन गर्न पाउँदैन', प्रजिअ रिजालले भने । तिब्बती नागरिकसँग छोता छुधाङ सेवा समाज काठमाडौं लेखिएको परिचयमात्रै रहेको छ । बसमा यात्राका क्रममा बनाइएको चलानमा भने उनीहरू सबै भारतीय भनेर उल्लेख गरिएको छ ।
 
उनीहरू नेपाली र अंग्रेजी भाषा नजान्ने भएकाले पनि धेरै कुरा खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । तर आफूलाई तिब्बती र नेपाली दुवै देशको नागरिक बताउने किन दुन टासीले उनीहरूलाई ल्याएको बताएका छन् । आफू तिब्बती भए पनि नेपाली सवारीचालक अनुमतिपत्र बनाएको उनले बताए ।
 
उनले आफू तिब्बती भए पनि नेपालमा आफ्ना तीनवटा बस रहेको र विगत २५ वर्षदेखि चिनियाँ नागरिकलाई भारतका तीर्थस्थल घुमाउने गरेको बताए । यो भ्रमण पनि भारतको बोधगया, काशी, बनारस र नेपालको लुम्बिनीका लागि रहेको उनको दाबी थियो ।
 
बसमा अधिकांश वृद्धवृद्धा छन् । उनले आफू भारतको धर्मशाला भन्ने ठाउँको स्थायी बासिन्दा भए पनि काठमाडौंबाट तिब्बतीहरूलाई भारतका तीर्थस्थल घुमाउने काम गरिरहेको बताए । उनीहरूलाई अध्यागमन कार्यालय कैलालीले काठमाडौं फिर्ता पठाएको छ ।
 
अध्यागमन कार्यालय कैलालीका कार्यालय सहयोगी किरणबहादुर बोहरा र प्रहरी स्कर्टिङमा तिब्बती बोकेको गाडी काठमाडौं पठाइएको अध्यागमन कार्यालय कैलालीका प्रमुख दीपक बोहराले बताए ।
 
Published on: 15 November 2016 | Annapurna Post

Back to list

;