s

४० तलाबाट खस्दा दुबईमा एक नेपालीको मृत्यु

आश गुरुङ
 
यूएईको अबुधावीस्थित एक कम्पनीमा कार्यरत लमजुङका युवकको ४० तलाबाट खस्दा निधन भएको छ ।
 
बेंसीसहर नगरपालिका वडा नं. १०, बाँझखेत सिरुवारीका २९ वर्षीय टुकप्रसाद गुरुङको निधन भएको पारिवारिक स्रोतले बताएको छ । परिवार साथै दुवैमा कार्यरत स्थानीयका अनुसार २ सय मिटर अग्लो ठाउँबाट खसेर उनको निधन भएको हो । त्यहाँको समय अनुसार गुरुङको आइतबार बिहान सवा ८ बजेतिर निधन भएको हो । 
 
अबुधावीको मेगार्मी कम्पनीमा ११ महिनायता काम गर्दै आएका उनको निधनले नेपाली कामदार शोकमा डुबेको कम्पनीका कार्यरत एक स्थानीयले बताए । उनी ११ महिनादेखि उक्त कम्पनीमा कार्यरत थिए । आउँदो महिना अक्टोबरमा घरछुट्टीमा आउने तयारीका साथ केही सामान समेत खरिद गरिसकेका टुकप्रसादको निधनले मर्माहत बनेको ती स्थानीयले बताए । टुकप्रसादको शव अस्पतालमा राखिएको छ ।
 
गत वर्षको फूलपातीका दिन दुबई गएका टुकप्रसाद कम्पनीमा रोप एक्सीस (डोरीमा झुण्डिएर सिफा सफा तथा पेन्टिङ) को काम गर्दै आएका थिए । गाउँका दाइ नाता पर्ने युवराज गुरुङका अनुसार उनको निधन भएको खबर आइतबार साँझमात्रै थाहा भएको थियो । ‘कम्पनीका मालिकले फोन गरेर बुहारी (टुकप्रसादकी पत्नी) लाई जानकारी गराउन खोज्नुभएछ, फोन उठेनछ’ उनले भने, ‘पछि साँझ सबै कुरा थाहा भयो, हामीलाई सपना जस्तो लागिरहेको छ ।’
 
घरका कान्छो छोरा उनको बुबाआमा, पत्नी, एकछोरी र एकछोरा छन् । युवराजका अनुसार गाउँकै दाजुभाइ तथा कम्पनीमा कार्यरत नेपालीले शव गाउँ पठाउने तयारी थालेको छ ।
 
Published on: 13 September 2017 | Kantipur

Back to list

;