s

४० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन

काठमाडौँ, माघ ११ गते । के तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ वा के तपाईं भर्खर मात्र फर्किनु भएको हो ? यदि त्यसो हो र तपाईंले दुःख गरेर कमाएको रकमलाई सुरक्षित लगानी गर्न चाहनु भएको छ भने नेपाल राष्ट्र बैङ्कको बचतपत्र खरिद गर्न सक्नुहुन्छ ।

राष्ट्र बैङ्कले शुक्रबार मात्र ४० करोड रुपियाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ । पाँच वर्षे अवधिका लागि ल्याइएको यो बचतपत्रमा १० प्रतिशत ब्याजदर तोकिएको छ । ब्याज अर्धवार्षिक रूपमा बचतकर्तालाई उपलब्ध गराइने नेपाल राष्ट्र बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैङ्कले वैदशिक रोजागारीमा गएका र गैरआवासीय नेपालीको पुँजीको सुरक्षित परिचालनका लागि पटक–पटक यस्तो बचतपत्र निष्कासन गर्ने गरे पनि अपेक्षित रूपमा भने त्यो बिक्री हुन सकिरहेको छैन । गत आर्थिक वर्षमा भने सरकारले वैदेशिक रोजगारीमा जानेका लागि यस्तो बचतपत्र निष्कासन गरेको थिएन । त्यसअघि लगातार नौ वर्षसम्म यस्ता बचतपत्र निष्कासन गर्दा जम्मा ११ अर्ब रुपियाँको मात्र बिक्री भएको थियो ।

चालू आवमा सरकारको मौद्रिक नीतिमा पनि वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूको पुँजी परिचालनका बचतपत्र निष्कासन गर्ने नीति लिएपछि राष्ट्र बैङ्कले पटक–पटक बचतपत्र निष्कासन गरेको नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिनुभयो । राष्ट्र बैङ्कले गत पुसमा पनि २० करोड रुपियाँको बचतपत्र निष्कासन गरेको थियो । २१ दिनका लागि मात्र खुल्ला गरिएको उक्त निष्कासन रकममध्ये १९ लाख २० हजार रुपियाँको बचतपत्र मात्र बिक्री हुन सकेको थियो ।

राष्ट्र बैङ्कले बारम्बार यस्तो अवसर उपलब्ध गराए पनि लक्षित वर्गका लगानीकर्ता भने खासै आकर्षित हुन सकिरहेका छैनन् । वैदेशिक रोजगारीबाट फर्केका र गैरआवासीय नेपालीहरूलाई यस्तो लगानी सुरक्षित हुने, कुनै जोखिम नहुने भन्ने विषयमा जानकारी कम भएकाले पनि लक्ष्य अनुसार बिक्री हुन नसकिरहेको भनाइ डा. भट्टको भनाइ छ । उहाँले भन्नुभयो, त्यसैले यस पटक लामो समयावधि राखिएको छ ।

शुक्रबारदेखि खुल्ला गरिएको बचतपत्र आगामी चैत २१ गतेसम्म खरिद गर्न सकिने छ । यसको निष्कासन मिति माघ २७, फागुन २८ र चैत २७ गते हुने राष्ट्र बैङ्कले जनाएको छ । डा. भट्ट भन्नुहुन्छ, सरकारले यस किसिमको बचतपत्र निष्काशमार्फत एक अर्ब रुपियाँ उठाउने लक्ष्य राखेको छ । त्यसैले चालू आवको बाँकी अवधिमा यसलाई निरन्तर बिक्री गरिने योजना रहेको छ । यो बचतपत्रमा लगानीकर्ताले न्यूनतम १० हजार रुपियाँ र बढीमा १० हजार रुपियाँले निःशेष भाग जाने रकम आह्वान गर्न सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।

यो योजना वैदेशिक रोजगारीमा संलग्न वा वैदेशिक रोजगारीबाट फर्केको छ महिना ननाघेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्ना परिवारको नाममा खरिद गर्न सक्ने जनाइएको छ । यस्तो बचतपत्र लगानीकर्ताले विभिन्न बैङ्क, मनि ट्रान्सफर, विदेशस्थित विभिन्न बैङ्कका एजेन्टमार्फत खरिद गर्न सक्ने छन् ।

राष्ट्र बैङ्कलाई अहिले ऋण उठाउनपर्ने कुनै आवश्यकता नभए पनि वैदेशिक रोजागारीमा रहेकाहरूले आफ्नो आम्दानीको निश्चित प्रतिशत बचत गरून् भन्ने उद्देश्यले यस्तो योजना ल्याइएको डा. भट्टको भनाइ छ ।

Published on: 25 January 2020 | Gorkhapatra

Link

Back to list

;