s

४ वर्षपछि नेपाल-अस्ट्रेलिया परामर्श संयन्त्र बैठक

अस्ट्रेलिया — नेपाल र अस्ट्रेलियाले राजनीतिक, कूटनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्ध थप सुदृढ पार्ने विषयमा छलफल गरेका छन् । अस्ट्रेलियाको राजधानी क्यानबेरामा बसेको नेपाल–अस्ट्रेलिया द्विदेशीय परामर्श संयन्त्रको बैठकमा उक्त छलफल भएको हो ।

नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध अझ दरिलो बनाउने उद्देश्यले दुई देशबीच सन् २०१७ मा सचिवस्तरीय संयन्त्र स्थापना भएको हो । चार वर्षपछि भएको दोस्रो बैठकमा एकआपसमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको अस्ट्रेलियास्थित नेपाली राजदूत कैलाशराज पोखरेलले बताए ।

नेपालमा अस्ट्रेलियाली लगानी बढाउने, यहाँको सीप तथा दक्षतालाई नेपालको विकासका लागि उपयोग गर्ने, हाल पाउँदै आएको सहयोग बढाउने, सिधा हवाई उडान गर्नेलगायत विषयमा समेत छलफल भएको उनको भनाइ छ ।

‘हामीले कूटनीतिक, आर्थिक र रणनीतिक क्षेत्रमा अझ सम्बन्ध विस्तार गर्ने र नीति निर्माण तहमा कसरी सम्बन्धलाई अझ उचाइ दिन सकिन्छ भनेर छलफल गर्‍यौं,’ पोखरेलले कान्तिपुरसँग भने । उनले लामो समयदेखि दुई देशबीचमा हुन नसकेको उच्चस्तरीय कूटनीतिक भेटघाटका लागि समेत पहल गर्ने विषयमा छलफल गरिएको जनाए ।

पोखरेलका अनुसार अस्ट्रेलियाले प्रदान गर्दै आएको छात्रवृत्तिको संख्या बढाउने, भिसा कार्यालय पुनः नेपालमा नै सञ्चालन गर्नेलगायतका विषयबारे पनि छलफल भएको छ ।

अस्ट्रेलियाली टोलीसमेत सकारात्मक रहेको उनले जनाए । त्यसैगरी, व्यापार तथा लगानीका क्षेत्रमा नीतिगत सहकार्य गर्न ट्रेड एन्ड इन्भेस्टमेन्ट संयन्त्र बनाउने विषयमा समेत छलफल भएको उनले जनाए । पोखरेलले व्यापार तथा लगानीलाई वृद्धि गर्नका लागि उक्त संयन्त्र अझ प्रभावकारी हुने ठानेर यसबारेमा छलफल सुरु गरिएको जनाए ।

संयन्त्रको बैठक प्रत्येक दुई वर्षमा हुने जनाइएको भए पनि कोरोना भाइरसको महामारीका कारण सन् २०१८ यता हुन सकेको थिएन । बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव भरतराज र अस्ट्रेलियाली टोलीको नेतृत्व विदेश विभागका सहसचिव जस्टिन हेहर्स्टले गरेका थिए ।

Published on: 1 September 2022 | Kantipur

Link

Back to list

;