s

३७ प्रतिशत बालक श्रममा

नेपालमा ३७ प्रतिशत बालबालिका अझै कुनै न कुनै किसिमको श्रम गर्न बाध्य भएको सेभ द चिल्ड्रेनले जनाएको छ । उसको पछिल्लो प्रतिवेदनअनुसार नेपालमा बालश्रमिकको संख्या घटे पनि तिनले पर्याप्त पोषण पाइरहेका छैनन् ।

‘यहाँ पछि परेका बालबालिकाहरू अझै पनि पछाडि नै छन्,’ संस्थाको विज्ञप्तिमा छ, ‘अझै पनि बालबालिकाहरूले स्वस्थ, खुसी र संरक्षित जीवन जिउन पाएका छैनन् ।’ प्रतिवेदनअनुसार ३६ प्रतिशत बालबालिका कुपोषित छन् । २० वर्षपहिले जन्मिएकाभन्दा हाल नेपालमा जन्मिने बालबालिकाहरू स्वस्थ, खुसी र संरक्षित भएर हुर्कने सम्भावना बढेको प्रतिवेदनमा जनाइएको छ । ग्लोबल चाइल्डहुड रिपोर्ट २०१९ को इन्ड अफ चाइल्डहुड इन्डेक्सका १ सय ७६ देशहरूमा नेपाल १३३ औं स्थानमा पुगेको छ । बाल मृत्युदर, शिक्षामा पहुँच, कुपोषण, बालविवाह र बालश्रमजस्ता मापकका आधारमा ऊक्त त्रमसंख्या तयार गरिएको हो ।

सो रिपोर्टमा नेपालले गएका दुई दशकमा १४२ अंकले प्रगति गरेको देखिन्छ । नेपालले सन् २००० देखि बाल मृत्युदर ५९ प्रतिशतले घटाएर पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको बाँच्ने अवसरमा वृद्धि गरेको छ । बालविवाहको दर पनि दुई दशकमा एक तिहाइका दरले घटेको छ । सेभ द चिल्ड्रेनका राष्ट्रिय निर्देशक नेड ओल्नीले नेपालले बालबालिका मुद्दामा साँच्चै प्रभावशाली प्रगति हासिल गरेको बताएका छन् । ‘यो प्रगतिलाई जारी राख्न नवजात शिशु, बालबालिका, किशोरी, अल्पसंख्यक जनजाति तथा दलितलगायत सबैभन्दा पछि परेका बालबालिकाका लागि विशेष कार्यक्रममा लगानी बढाउन प्रोत्साहन गर्छौं,’ उनले भनेका छन् ।

Published on: 2 June 2019 | Kantipur

Back to list

;