s

३४ नेपाली मजदुर भारतीय हिरासतमा

रोजगारका लागि भारतको मुम्बई पुगेका ३४ नेपाली युवालाई भारतीय प्रहरीले चोरी अभियोगमा पक्राउ गरी चरम यातना दिएको छ ।

यातना दिएका केही युवा घाइतेसमेत रहेको आफन्तले दाबी गरेका छन् । कांग्रेस आईका पूर्वर्विधायक परशुराम चाउरेको घरमा भएको चोरीमा ती युवा संलग्न रहेको महाराष्ट्र प्रहरीले अभियोग लगाएको छ । भिउन्डी थानाका प्रहरीले चार दिनअघि उनीहरूलाई हिरासतमा लिएको हो । साढे २ किलो सुन र डेढ करोड रुपैयाँ चोरी भएको भन्दै बन्दी बनाइएका अधिकांश अछाम जिल्लाका हुन् । प्रहरीले विधायकको घर क्षेत्र वरपर काम गर्दै र बस्दै आएका नेपालीलाई पक्राउ गरेको पीडितका आफन्तले बताएका छन् । 'प्रहरीले एउटै परिवारका तीन दाजुभाइलाई समेत हिरासतमा लिएको छ,' उनीहरूका आफन्त नेपालगन्ज बुद्धनगरका शरदचन्द्र रावलले भने, 'यातनाका कारण कतिपय छुटेर आए पनि काम गरिखान नसक्ने अवस्थामा छन् ।'

Published on: 11 November 2011 | Kantipur 

Back to list

;