s

३० महिना ‘बन्धक’ सरह बसेका ३ नेपाली काबुलबाट घर फर्कँदै

‘अफगान सरकारले ५० लाख रुपैयाँ जरिवाना मिनाहा गरिदियो’

मानव तस्करको परिबन्दमा परेर अफगानिस्तानमा ३० महिनाभन्दा बढी गैर कानूनी हैसियत र झण्डै बन्धकसरहको जीवन बिताएर अफगानी सरकारबाट ‘माफी’ पाएपछि ३ नेपाली कामदार बिहीबार काठमाडौं फर्कंदैछन् ।

कास्कीका गोविन्द पौडेल र हेमप्रसाद गुरुङ तथा पर्वतका मीनबहादुर क्षेत्री दिल्ली हुादै २०१५ को जुन १ मा काबुल पुगेपछि स्थाीय क्यामोलेट बिजिनेश इन्टरनेशनल कम्पनीमा सेक्युरिटी गार्डका रुपमा कार्यरत थिए। तर, उक्त कम्पनीले भिसा, वर्क पर्मिट नदिएरै १० महिनापछि कामबाट निकालिदिएको र त्यसपछि लगातार गैर कानूनी हैसियतमा उनीहरु काबुलमा लुकिछिपी बस्दै आएका थिए।
 
अफगानिस्तानमा कागजातहीन भएपछि ‘ओभर स्टे’ र एक्जिट भिसाको शुल्क जरिवानास्वरुप बढ्दै गएपछि यी कामदार बन्धकसरह काबुलमा बसिरहेका थिए। पीडितहरुले नेपाल सरकारका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र सचिवसहितलाई बारम्बार उद्धारका लागि आग्रह गर्दै आएपछि एक सातामात्रै अफगान सरकारले यी कामदारले तिर्नुपर्ने झण्डै ५० लाख रुपैयाँको जरिवाना मिनाहा गरिदिएपछि दुई दिन अघि मात्रै काबुलबाट दिल्ली आएका थिए।
 
दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीका अनुसार यी कामदारहरु बिहिबार अपरान्ह नेपाल बायुसेवाको उडानबाट काठमाडौं आउने भएका छन्।
 
पोखराको एसजी मारिन मेनेजमेन्ट प्रालिका प्रबन्धक सन्तोष गुरुङ, लक्ष्मी कार्की र चन्द्र गुरुङलाई जनही ७ लाख रुपैयाँ बुझाएर आफूहरु अफगानस्तान काममा गएको बयान पीडितहरुले दिंदै आएका छन्।
 
दिल्लीमा पुगेर यी कामदारले भरतकुमार अधिकारी क्षेत्री नामका एजेन्टलाई ९० हजार भारु र काबुलमा पुगेर अर्का एजेनट (अलि) लाई एक हजार डलर बुझाएका थिए। उनीहरुलाई पोखराका म्यानपावर एजेन्ट हुदै दिल्ली र काबुलमा पुग्दा समेत अमेरिकी कम्पनीमा काम दिइने बताइएको थियो।
 
Published on: 8 February 2018 | Kantipur

Back to list

;