s

३० हजार मागपत्रको म्याद ६ महिना थप

काठमाडौं : सरकारले रोजगारदाता मुलुकबाट २०७६ फागुनअघि लिएका मागपत्र कार्यान्वयन गर्न थप ६ महिना दिएको छ। वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यन्वयनका लागि ६ महिनाको म्याद दिइएको हो। 

कोरोना भाइरस महामारीअघि प्राप्त भएका डिमान्ड पुनः प्रमाणीकरण गर्न खर्चिलो, झन्झटिलो भएका कारण ६ महिना कामदार पठाउन पाउने गरी म्याद थप गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए। 

२०७६ फागुनअघि प्राप्त भएका मागपत्र कार्यन्वयनका लागि २०७८ मंसिर २२ देखि २०७९ जेठ २१ सम्म कायम रहने गरी ६ महिना म्याद थप गरिएको हो। सरकारको यो निर्णयसँग कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउन अघि प्राप्त भएका ३० हजार बढी मागपत्र कार्यन्वयन हुनेछ। 

वैदेशिक रोजगारी सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ अनुसार निर्णय गरिएको मन्त्रालयले जनाएको छ। कोरोना भाइरस महामारीका कारण सरकारले २०७६ फागुन २६ गतेबाट वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन रोक लगाइको थियो। अहिले अन्तर्राष्ट्रिय उडान संचालन भइरहेको तथा रोजगारदाता मुलुकबाट श्रमिकको माग भइ आएकोले पहिले नै प्राप्त भएका माग पत्र अनुरुप श्रमिक पठाउन ६ महिनाको म्याद थप गरिएको हो।

Published on: 7 January 2022 | Annapurna Post

Link

Back to list

;