s

३ युवतीको उद्धार

धादिङका ३ युवतीलाई स्थानीयको सहयोगमा प्रहरीले नेपाल भारत सीमा गुलरियाबाट उद्धार गरेको छ । २२, २५ र २७ वर्षका ती युवतीलाई भारत लैजाने बारबर्दिया १ बनियाभारका ३३ वर्षीय अमर थापाविरुद्ध मानव बेचविखन मुद्दा दायर गरिएको छ ।
 
पश्चिम बंगालको सिलीगुढी सपिङ गर्न हिँडेको बताउने ती युवती फरक–फरक बयान दिँदै आएका उनीहरूले मुख्य दलालको नाम भने थाहा नभएको बताएका छन् । उनीहरूमध्ये २५ वर्षीय युवतीले भारत दार्जिलिङमा वसन्ती मगर नाम गरेकी महिलाले रोजगारी दिलाइदिने आश्वासन दिएको प्रहरीलाई जनाए ।
 
भारतीय मोबाइल नम्बरबाट उनीहरू सीमावर्ती मिहीपुरुवाका दलालमार्फत दिल्ली लगेको थापाले बताए । मिहीपुरुवा पुर्‍याएपछि थापाले २० हजार पाउने बयान दिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका युवतीलाई माइती नेपालको जिम्मा लगाएको छ । मुलुकको पुर्वी नाकामा कडाई गरेपछि मानव तस्करले बर्दियाका विभिन्न नाकाबाट नेपाली महिलालाई दिल्लीबाट श्रीलंकाको राजधानी कोलम्बो हुँदै खाडी मुलुक लग्न लागिएको खुलासा भएको छ । उद्धार गरिएका युवती काठमाडौंस्थित रेस्टुरेन्टमा काम गर्दै आएका थिए ।
 
अवैध रूपमा भारत पुर्‍याउन लागिएका उनीहरूलाई मंगलबार नियन्त्रणमा लिएपछि कोलम्बो भएर कुवेत जान लागेको तथ्य बाहिर आएको हो । दिल्लीमा रहेका दलालमार्फत वैदेशिक रोजगारीका लागि उनीहरू जाँदै थिए । एक वर्षयता २० महिलालाई प्रहरीले सीमाबाट उद्धार गरेको छ ।
 
प्रहरीका अनुसार मानव बेचबिखनमा संलग्न दलालले जिल्लाको जमुनी, कालिका, मोहम्मदपुर, सुरजपुर, सानोश्री ताराताल, कोठियाघाटलगायत नाका प्रयोग गर्दै आएका छन् । अवैध रूपमा वैदेशिक रोजगारको प्रलोभन देखाई विदेश पठाउनेमा दिल्ली र कलोम्बोमा नेपाली र भारतीय दलाल सक्रिय छन् । बर्दिया तारातालकी एक महिला केही समयअघि भागेर यहाँ आएकी थिइन् । उनका अनुसार दिल्लीमा नेपाली र भारतीय दलाल मिलेर एउटा घर भाडा लिई महिला बेचबिखनको काम गर्छन् ।
 
Published on: 24 May 2018 | Kantipur

Back to list

;