s

३ तलाबाट खसेर गम्भीर घाइते भएका विकासको एक महिनापछि उपचार

उपचार अभावमा एकमहिनादेखि दुबईको अस्पतालमा थलिएका एक नेपालीको नेपाली दूतावास आबुधाबीको पहलमा उपचार सुरु भएको छ । दुबई डीआईपीको एनएमसी अस्पतालमा उपचार अभावले थलिएका काठमाडौका विकास केसीको शुक्रबारबाट उपचार सुरु भएको हो ।

केसी दुबईको क्यु विजी कम्पनीमा कुक पदमा कार्यरत छन् ।घरको तीन तला माथिबाट खसेर अशक्त बनेका उनको उपचारमा कम्पनीले वेवास्ता गर्दै आएको थियो । सुरुमा इन्सुरेन्सले कभर गर्दासम्म कम्पनीले प्राथमिक उपचार गराएको तर थप उपचारमा धेरै खर्च लाग्ने भएपछि वेवास्ता गर्दै आएको नेपाली दूतावासले जनाएको छ ।दूतावासका उपनियोग प्रमुख सागरप्रसाद फुयाँलले केसीको तत्काल उपचार गर्न सम्बन्धित कम्पनीलाई आग्रह गरेपछि शुक्रबारबाट उनको उपचार सुरु भएको हो ।

यसरी भयो दुर्घट्ना

अप्रिल महिनाको तिन तारिख । विकास सधै झै बार्दलीमा बसेर चिया पिउँदै थिए। चियाको कप राखेर प्राथना गर्न थाले ।ध्यानमा देउता पुकारी रहेका उनी अचानक तिनतल्लाको बार्दलीबाट जमिनमा बजारिए। बेहोस अवस्थामा रहेका उनलाई साथीहरुले नजिकैको एनएमसी अस्पताल पुर्याए . उनको दुवै खुट्टा र मेरुद्दण्ड भाँचिएको र नाकमा समेत गहिरो चोट लागेको थाहा भयो । दुबई डीआईपीमा रहेको एनएमसी अस्पतालमा १ लाख ५० हजार दिराम बराबरको स्वास्थ्य बीमा कार्डको सहायताले प्राथमिक उपचार भयो ।

दुवै खुट्टा र मेरुद्धण्डमा स्टील राखिएको छ । नाकको चोटमा सुधार हुँदैछ । उपचारमा इन्सुरेन्सले कभ हुन छोडेपछि कम्पनीले समेत सम्पर्क गर्न छोड्यो ।एक महिनासम्म उनी अस्पताल शैयामा उपचारका लागि छट्पटाए । कम्पनीले वेवास्ता गरेपछि अस्पतलाले थप उपचारका लागि आफन्तलाई खबर गर्न दवाव दियो । यहाँ आफ्नो कोही पनि नभएको जनाउदै उनले कि नेपाल फर्काउन कि त यहीँ उपचार गराउन अस्पताललाई आग्रह गरे । गहभरी आँसु बनाउँदै उनले थपे, ‘यो विरानो ठाँउमा मेरो कोही छैन। म बाँच्न चहान्छु । मलाई बचाइदिनुस् ।’ सोही अस्पतालमा कार्यरत नेपाली चिकित्सकले दूतावासमा जानकारी गराउन सुझाव दिए । विकासले साथीहरुको सहायतामा दूतावासमा जानकारी गराए । सुरूमा दूतावासका उपनियोग प्रमुख सागरप्रसाद फुयाँलले अस्पतामै पुगेर उनको स्वास्थ्यबारे जानकारी लिएका थिए ।

त्यसपछि उपचारमा समन्वय गर्न श्रमकाउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकृत (पीआरओ) इरफान आलमलाई जिम्मेवारी दिइएको थियो । दूतावासले यहाँको स्थानीय निकायलाई जानकारी गराएपछि उनको शुक्रबारबाट उपचार प्रकृया पुनः सुरु भयो । उपचार खर्च कम्पनीले ब्यहोर्ने भएको छ । पूर्णरुपमा निको बनाएर घर पठाउछौँ : दूतावास शुक्रबार विकासको दाहिने खुट्टाको शल्यक्रिया भयो । अब देब्रे खुट्टा र मेरुद्दण्डको शल्यक्रिया हुन बाँकी छ । शुक्रबार दूतावासबाट उपनियोग प्रमुख सागरप्रसाद फुयाँल  र श्रम  सहचारी मोतीराम भुषालले उनलाई भेटे ।

उपनियोग प्रमुखले पूर्णरुपमा निको बनाएर पठाउने जनाउदै धैर्य गर्न आग्रह गरे । आइतबार कम्पनीका मानव संसाधन विभाग (एचआर) का कर्मचारी अस्पालमा भेट्न पुगेका थिए। उनले केहीँ दिनमा नेपाल पठाउने बताए। तर आफू सामान्य हिड्डुल गर्न सक्ने भएपछि मात्र नेपाल फर्कने विकासले सुनाए । दूतावास प्रतिनिधि पुगेपछि विकासले खुशी हुँदै अब निको बनाएर फर्काइदिन आग्रह गरे ।

Published on: 6 May 2019 | Onlinekhabar

Back to list

;