s

३ वर्षमा ७५ हजार महिला फर्काइए

चेलीबेटी बेचबिखन नियन्त्रणमा सक्रिय माइती नेपालले तीन वर्षमा वैदेशिक रोजगारीका लागि हिँडेका ७५ हजारभन्दा बढी महिलालाई नाकाबाट फर्काएको छ ।
माइती नेपाल पूर्वाञ्चल कार्यालयका अनुसार सन् २०११ मा २८ हजार ३ सय २०, २०१२ मा २२ हजार ७ सय ४० र २०१३ मा २५ हजार २ सय ९३ जना महिलालाई काँकडभिट्टा नाकाबाटै फर्काइएको हो । कार्यालय प्रमुख गोविन्द घिमिरेले माइती नेपालका सक्रियताका बावजुद पनि बर्सेनि हजारौंको संख्यामा भारतीय बाटो भएर महिला बिदेसिइरहेको बताए । उनले भने, 'माइती नेपालको आँखा छलेर नाकाबाट बाहिरिने क्रम जारी नै छ ।'
काँकडभिट्टाबाट भारतको दिल्ली हुँदै महिलालाई खाडी मुलुक पठाउने ठूलो गिरोह नेपाल तथा भारत दुवै देशमा सक्रिय छ । मनग्ये पैसा कमाइ हुने बहानामा खुलेआम महिलाको बिक्री भइरहेको घिमिरेले बताए । उनले भने, 'हामीमात्रै लागेर समस्या निराकरण गर्न कठिन छ ।' कार्यालयका अनुसार तीन वर्षमा दलालको फन्दामा परेर भारतका विभिन्न वेश्यालयमा बेचिएका ६५ जना महिलालाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । बेचबिखनका ४ वटा घटनामा कार्यालयले मुद्दासमेत दर्ता गराएको छ ।
घिमिरेका अनुसार महिला बेपत्ता हुने क्रम पनि पूर्वमा बढेको छ । २०११ र २०१२ मा ८८/८८ जना महिला बेपत्ता भएका थिए । यस वर्ष १ सय २१ जना बेपत्ता परिवारले आफन्तको खोजीका लागि निवेदन दर्ता गराएका छन् । बेपत्ता हुने अधिकांश महिला र बालबालिका छन् ।
बेपत्तामध्येका धेरै परिवारको सल्लाहबिना वैदेशिक रोजगारीमा पुगेका उदाहरण पनि प्रशस्त छन् । 'विदेशमा पुगेर दुःख पाएपछि मात्रै परिवारलाई थाहा दिने गरिएको पाइयो,' घिमिरेले भने ।
 
Published on: 8 January 2014 | Kantipur
 

Back to list

;