s

२ हजार २ सय ५२ गरिब तथा विपन्न परिवारलाई भक्तपुर नगरको राहत

ईश्वरकाजी खाइजू 

भक्तपुर : भक्तपुर नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नुपर्ने गरिब तथा विपन्न दुई हजार दुई सय ५२ घरपरिवारलाई राहत बाँडेको छ । भक्तपुर नपाले आइतबार एकैदिन नगरका १० वटै वडामा दुई हजार दुई सय ५२ ज्याला मजदुरी गर्ने गरिब तथा विपन्न घरपरिवारलाई राहत वितरण गरेको हो । 

नगर प्रमुख सुनिल प्रजापतिका अनुसार १० वटा वडाबाट कूल दुई हजार ६ सय ८८ घरपरिवारको लगत संकलन भएको थियो । जसमध्ये आइतबारमात्रै दुई हजार दुई सय ५२ घरपरिवारलाई उक्त राहत वितरण गरिएको उनले जानकारी दिए । राहतसम्बन्धी मापदण्डअनुसार दुईजनाभन्दा बढी सदस्य भएको घरपरिवारलाई चामल २० केजी, दाल १ केजी, नून १ केजी, तेल १ लिटर, चिउरा ३ केजी र एउटा साबुन वितरण गरिएको नपाले जनाएको छ ।

त्यस्तै २ जनामात्रै सदस्य भएको घरपरिवारलाई चामल १० केजी, चिउरा ३ केजी, दाल १ केजी, नून १ केजी, तेल आधा लिटर र साबुन एउटा वितरण गरिएको छ । 

वडा नं १, ४, ५, ६ र ७ ले भने घरदैलो गरेर सम्बन्धित घरपरिवारलाई राहत वितरण गरेको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

उनका अनुसार २ वडाले नपा कार्यालय परिसर, ३ वडाले मेधा मावि, ८  वडाले वडा कार्यालय, ९ वडाले दत्तात्रय आधारभूत विद्यालय र वागीश्वरी मावि, तथा १० वडाले ख्वप कलेज र कमलविनायक पोखरी परिसरमा राहत वितरण गरेको थियो । 

आइतबार राहत प्राप्त गर्नेहरुमा १ वडामा ३७१, २ मा १९१, ३ मा ७५, ४ मा १८५ र ५ वडामा १३७ घरपरिवार थिए । त्यस्तै ६ वडामा १२६, ७ मा १५८, ८ मा ३१५, ९ मा १६७ र १० वडामा ४२७ घर परिवार रहेको नपाले जनाएको छ । 

नपाले राहत वितरणको लागि सम्बन्धित वडााको अध्यक्षतामा वडा समन्वय समिति गठन गरेको थियो । सोही समन्वय समितिको संयोजनमा सामाजिक दूरी कायम गरी राहत वितरण गरिएको छ । 

भक्तपुर नपाको लागि जिल्लास्थित घरेलु तथा साना उद्योग संघले उक्त राहतको प्याकेजिङ गरेर सहयोग गरेको थियो । संघले भक्तपुर नपाको अनुराधानुसार तीन हजार घरपरिवारको लाग उक्त राहत प्याकेज तयार गरेको संघका अध्यक्ष वीरेन्द्र जतीले बताए ।

Published on: 12 April 2020 | Annapurna Post

Link

Back to list

;