s

रोजगारी नहुँदा सुस्त भयो जनसंख्या वृद्धिदर

योगेश खतिवडा

देशभित्र पर्याप्त रोजगारीको अवसर नहुँदा यसको असर जनसंख्या वृद्धिदरमा परेको छ । वैदेशिक रोजगारीमा जानेको संख्यामा भएको उच्च वृद्धि र बच्चाको पालनपोषण खर्च बढेपछि जनसंख्या वृद्धिदर कम भएको हो । सन्तान उत्पादन गर्ने बेलामा काम खोज्दै बिदेसिने नेपाली युवाको संख्या एक दशकमा उच्च दरले बढेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०६८ को जनगणना तथ्यांकअनुसार जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको छ । २०५८ सालको जनगणनामा रहेको वृद्धिदरभन्दा यो झन्डै १ प्रतिशत बिन्दुले कम हो । २०५८ मा जनसंख्या वृद्धिदर २ दशमलव २५ प्रतिशत थियो । 'सन्तान उन्पादनका लागि सक्षम हुने उमेरमा युवाहरू बिदेसिएकाले जनसंख्या वृद्धिदर कम भएको हो,' वैदेशिक रोजगार जानकार तथा समाजशास्त्री गणेश गुरुङ भन्छन्, 'दुईमध्ये एक जना विदेशमा हुने भएकाले जन्म वृद्धिदर कम भएको हो ।' १९ देखि ४५ वर्षका पुरुषमा १६ देखि ४९ वर्षका महिलामा प्रजनन शक्ति सक्रिय हुन्छ । 'नेपालबाट बिदेसिने प्रायः युवा यही उमेरभित्रका छन्,' गुरुङले भने ।

वैदेशिक रोजगार जानकार अर्थविद् चिरञ्जीवी नेपालले वैदेशिक रोजगारी एउटा कारण भएको बताउँछन् । 'जनसंख्या वृद्धि सुस्त हुनुमा आर्थिक स्थिति, बढ्दो खर्च, सामाजिक संरचना, व्यस्ततालगायत धेरै कुराको असर छ,' उनले भने । बालबालिकाको शिक्षा महँगो भएको र अभिभावक शिक्षा दिनुपर्छ भन्नेमा सचेत भएकाले पनि वृद्धिदरमा असर गरेको उनको भनाइ छ । जनगणनाअनुसार प्रत्येक चार घरमा एउटा घरका एक वा सोभन्दा बढी सदस्यले परिवार छाडेर विदेशमा बसेको पाइएको छ । नेपालका १३ लाख ५० हजार घरमा कुनै न कुनै सदस्य परिवारसँग बसेको छैन । विदेशमा बस्ने नेपालीको संख्या १९ लाख २२ हजार छ । दस वर्षअघि २०५८ को जनगणनाअनुसार ७ लाख ६२ हजार युवाहरू देश बाहिर थिए । यसरी बिदेसिनेमा ४४ दशमलव ८१ प्रतिशत १५ देखि २४ वर्षभित्रका युवा छन् । युवाहरू बिदेसिँदा जन्मान्तर बढेको गुरुङ बताउँछन् । 'काम गर्न विदेश गएका व्यक्ति ३/४ वर्षमा मात्र घर र्फकन्छन्,' उनले भने, 'त्यसबेला पनि धेरै छोटो बिदामा आउँछन् । यसले सन्तान उत्पादन हुने सम्भावना कम गराउँछ ।' विदेश जाँदा स्वतः केही वर्ष सन्तान उत्पादन नहुने भएकाले जन्मान्तर बढ्दा जनसंख्या वृद्धिदर घटेको उनले बताए । परिवारलाई गर्नुपर्ने लगानी, परिवार नियोजनका साधनको प्रयोग वृद्धिलगायतका कारण वृद्धिदरलाई केही कम गरे पनि मुख्य कारण वैदेशिक रोजगारी रहेको गुरुङले बताए । यूएसएआईडीले ५२ वर्षदेखि परिवार नियोजनका लागि धेरै खर्च गरे पनि अघिल्ला जनगणनासम्म वृद्धिदर उच्च रहेको तर दस वर्षमा बिदेसिनेको संख्या उच्च भएकाले वृद्धिदर घटेको हो ।

केही समयघि सार्वजनिक तथ्यांकले परिवार नियोजनको साधन प्रयोग गर्नेको संख्या ४३ बाट बढेर ४४ प्रतिशत मात्र पुगेको छ । 'यो वृद्धिदरले परिवार नियोजनका साधन बढी प्रयोग भएकाले जनसंख्या वृद्धि कम भएको हैन भन्ने देखाउँछ,' गुरुङले भने, 'यो साधन प्रयोग गर्ने समूहका धेरै ्रबाहिर गएकाले यसको प्रयोगमा खासै वृद्धि हुन नसकेको हो ।' यसअघि परिवार नियोजनको साधन प्रयोगमा ५ देखि ७ प्रतिशतले वृद्धि हुने गरेको थियो । बिदेसिनेको संख्या वृद्धिदरसँगै महिला परिवार मूली हुने पनि बढेका छन् । २०५८ को जनगणनाअनुसार १४ दशमलव ८७ प्रतिशत परिवारमा महिला मूली रहेकामा अहिले बढेर २५ दशमलव ७३ पुगेको छ । वैदेशिक रोजगारीमा गएपछि उनीहरूले पठाउने पैसाले घरजग्गा जोड्ने चलन पनि एक दशकमा उच्च दरमा बढेको छ । २०५८ मा महिलाको नाममा घरजग्गा भएको परिवार ९ दशमलव ११ प्रतिशत रहेकामा अहिले बढेर १९ दशमलव ७१ प्रतिशत पुगेको छ ।

Published on: 28 November 2012 | Kantipur

Back to list

;