s

२७ युवाले पाए तीनमहिने रोजगारी

दोर्दी गाउँपालिकाले २७ युवालाई ३ महिनाका लागि ‘सडक हेरालु’का रूपमा रोजगारी दिएको छ । सबै वडाबाट सिफारिस भई आएका युवालाई छनोट गरी ५ भदौदेखि काममा खटाइएको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए । उनका अनुसार ‘सडक हेरालु’ले नाला सरसफाइ, सडकका खाल्टाखुल्टी पुर्नुका साथै सडकमा रहेको पानी कटाउने काम गरी सडक सञ्चालनमा सघाउ पुर्‍याउनेछन् । अध्यक्ष गुरुङले भने, ‘पानी पर्नेबित्तिकै सडक हिलाम्मे हुँदा बर्खामा गाडी सञ्चालनमा आउँदैन, यसलाई मध्यनजर गरेर तीन महिनाका लागि हेरालु राखिएको हो ।’

सरकारी बिदाका दिनबाहेक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उनीहरू सडकमा खटिन्छन् । प्रतिव्यक्ति मासिक १५ हजार रुपैयाँ तलब दिइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यसका लागि चालू आवमा १५ लाख रुपैयाँ बजेट छुट्याएको छ । सडक हेरालुले मंसिर ५ गतेसम्म काम गर्नेछन् । गाउँमै रोजगारी पाएपछि युवा खुसी भएका छन् । ‘खाली समयको सदुपयोग हुने, आम्दानी पनि हुने ।

गाउँघरमै यसरी रोजगारी पाउँदा खुसी छौँ,’ नौथर सेरा हुँदै साँदीखोला पाचोक जाने सडकको नाली सफाइमा जुटेका नौथर सेराका सडक हेरालु रामबहादुर तामाङले भने । आफूहरूले आवश्यक सामग्रीका साथै एकदिने तालिमसमेत पाएको उनले बताए । गाउँपालिकाका अनुसार अहिले २७ जना युवा आ–आफ्ना वडामा रहेका सडकको काममा खटिएका छन् । दोर्दी गाउँपालिकामा ९ वडा छन् । सबै वडामा ३–३ जना गरी गाउँपालिकाभर २७ जना युवाले ३ महिनाका लागि ‘सडक हेरालु’का रूपमा रोजगारी पाएका हुन् ।

Published on: 7 September 2019 | Naya Patrika

Back to list

;