s

२५ हजार नेपालीलाई तत्काल ल्याउने उच्चस्तरीय समितिको निर्णय

बिनु सुवेदी

काठमाडौँ — सरकारले विदेशमा अलपत्र परेका २५ हजार नेपालीलाई प्राथमिकताका आधारमा एक हप्तादेखि १० दिनभित्र ल्याउने भएको छ । कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयस समितिको शुक्रबारको बैठकले प्राथमिकताको आधारमा तत्काल २५ हजारलाई ल्याउने निर्णय गरेको छ ।

तस्बिर सौजन्य : कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सचिवालय ।

मन्त्रिपरिषद्‍ले यसअघि नै विदेशमा रहेका नेपालीलाई ल्याउने कार्यविधि पारित गरेको छ । पारित कार्यविधि अनुसार समितिले कार्ययोजना बनाएको हो ।

सरकारले भारत र अन्य देशमा गरी झन्डै ६ लाख नेपाली तत्काल आफ्नो देश फर्किन चाहेको बताएको छ । यसमध्ये प्राथमिकताको आधारमा युइए, कतार, मालदिभ्स तथा बंगलादेशमा रहेका विद्यार्थीलगायत परेका छन् । समिति स्रोतका अुनसार युएइमा रहेका २८ जना गर्भवती नेपाली महिला र कुवेतमा लडकडाउनकै अवधिमा माफी पाएर देश फर्किन बसेका २५ सयदेखि ३ हजार घरेलु कामदारलाई पहिलो प्राथमिकतामा राखिएको छ । दैनिक ३ हजारदेखि ३५ सय जनालाई ल्याइने पनि स्रोतले बतायो ।

स्रोतका अनुसार आवश्यकता अनुसार केहीलाई लिन नेपालबाट विमान पठाइनेछ भने केहीलाई उतैको देशसँग समन्वयगरी ल्याइने छ । नेपाल आएपछि दुई दिन उनीहरुले आफ्नै खर्चमा काठमाडौंको होटलमा बस्नुपर्ने छ । अवस्थाहेरी केहीलाई भने सरकारले नै यो सुविधा उपलब्ध गराउने पनि समितिका एक सदस्यले बताए । दुई दिन काठमाडौंमा बसेपछि सबैलाई उनीहरुकै घर भएको स्थानीय तहका क्वारेन्टाइनमा बस्नेगरी पठाइनेछ ।

Published on: 29 May 2020 | Kantipur

Link

Back to list

;