s

२५७ म्यानपावर नवीकरण हुने

काठमाडौँ — २ वर्षसम्म सय कामदार पठाउन नसक्ने २५७ वटा म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुने भएको छ । मन्त्रिपरिषद्को गत शुक्रबारको बैठकले ‘वैदेशिक रोजगारीका नाममा भिसा किनबेच रोक्न’ भन्दै म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गर्ने निर्णय गरेको हो ।

‘यस्तो बाध्यात्मक प्रावधानले म्यानपावरबीच अस्वस्थ प्रतिस्पर्धा भयो,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘भिसाको किनबेच हटाउनका लागि म्यानपावरको नवीकरण गरिएको हो ।’

ती अधिकारीका अनुसार मन्त्रालयले वैदेशिक रोजगार ऐनलाई नै संशोधन गर्ने प्रक्रिया अगाडि बढाएको छ । ‘एकपटक अनुमति पाइसकेपछि वर्षमा यति नै कामदार पठाउनुपर्छ भनेर संख्या तोक्ने कार्य ठीक भएन । यसले अस्वाभाविक गतिविधि बढायो,’ उनले भने, ‘यो प्रावधान सधैंका लागि हटाउन कानुन नै संशोधन प्रक्रियालाई अगाडि बढाइएको छ ।’

सरकारले २ वर्षअघि पनि लगातार २ वर्षसम्म सय कामदार पठाउन नसक्ने म्यानपावरको नवीकरण गर्ने निर्णय गरेको थियो । त्यसबेला ३८० कम्पनी खारेज हुनबाट जोगिएका थिए ।

Published on: 20 July 2022 | Kantipur

Link

Back to list

;