s

२५ वर्षमा ३६ हजारको उद्धार

मानव बेचबिखनविरुद्ध कार्यरत माइती नेपालले २५ वर्षको अवधिमा जोखिममा परेका ३६ हजार ४५ महिला तथा बालबालिकाको उद्धार गरेको जनाएको छ । 
 
रोकथाम, उद्धार र पुन:स्थापनामा कार्यरत संस्थाले १८ हजार ५५ जना विभिन्न समस्या परेकालाई कानुनी सहयोग, १० हजार ६ सय ६५ घरेलु हिंसापीडितलाई मध्यस्थता गरेको कार्यकारी निर्देशक विश्वराम खड्काले जानकारी दिए । माइती नेपालले गरेको मेची–महाकाली जनचेतना अभियानको हेटौंडामा आयोजित समापन कार्यक्रममा उनले १५ सय १७ जना पीडकलाई कानुनी कारबाही गरी जेल चलान गरिएको बताए । प्रदेश ३ मा रहेका जिल्लामा मानव बेचबिखनको उच्च जोखिम रहेको उल्लेख गर्दै उनले रोकथामका लागि प्रत्येक नागरिक सचेत हुनुपर्ने बताए ।
 
कार्यक्रममा प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले मानव बेचबिखन रोकथामका लागि संसद्मा संकल्प प्रस्ताव लैजाने बताए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बेचबिखनको शंका लागे नागरिकता दिने क्रममा सोधपुछ गर्ने गरेको बताए । जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीले आर्थिक सशक्तीकरणले मात्रै महिला हिंसा कम गराउन सकिने तर्क गरिन् । फागुन १० गतेदेखि चलेको अभियानअन्तर्गत बुधबार हेटौंडामा जनचेतनामूलक गीत, नाटकसमेत प्रस्तुत गरिएको थियो ।
 
Published on: 1 March 2018 | Kantipur

Back to list

;