s

२२ वर्ष भारतको रोजगारी, अहिले गाउँमै ताजा तरकारी

तम्घास, असार २५ गते । छत्रकोट गाउँपालिका –२ का ५० वर्षीय इमानसिंह राना घरमा आर्थिक अभावका कारण २२ वर्ष भारतका विभिन्न स्थानमा गएर काम गर्नुभयो । अहिले आफ्नै गाउँमा ताजा तरकारी फलाएर राम्रो आम्दानी गर्नुभएको छ ।

घरको आर्थिक अवस्था सुधार गर्न भारत पस्नुभएका रानाले होटल, कम्पनी, घरमा गरी काम गरेको सम्झनुभयो । लामो समय भारतमा बिताउनुभएका रानाले अब नेपालकै माटोमा केही गर्नुपर्छ भन्ने उद्देश्यले २०७३ सालमा नेपाल आएर इमानकली कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर कृषि पेसामा लाग्नुभएको छ ।

उहाँले अहिले १५ रोपनी क्षेत्रफलमा प्लाष्टिक टनेलमा टमाटर, बन्दा, काउली, धनियाँ, अकबरे खुर्सानी लगाएर राम्रो आम्दानी गर्नुभएको छ । अहिले वार्षिक रूपमा सबै खर्च कटाएर १५ लाख रुपियाँ बचत गरेको बताउनुभयो । यस क्षेत्रमा आफू पूर्ण सन्तुष्ट रहेको बताउँदै श्रीमतीको ठुलो साथ रहेको र चार जनालाई नियमित रोजगारी दिएको रानाले बताउनुभयो ।

पछिल्लो समय युवाहरू विदेशीनेक्रम जारी रहेको बताउँदै उहाँले युवालाई ऊर्जावान् समय नेपालकै माटोमा खर्चन आग्रह गर्नुभयो । ऊर्जावान् समयलाई नेपालकै माटोमा खर्चिन सके नेपालमै सुन फलाउन सकिने उहाँको भनाइ छ ।

आफूले उत्पादन गरेका सबै कृषिउपजहरुका लागि बजारको कुनै समस्या नभएको र बजारीकरणका लागि पैँचो पसलसँग सहकार्य गरेको रानाले बताउनुभयो । सिँचाइका लागि पानीको समस्या भएको बताउँदै रानाले त्यसको उचित व्यवस्थापन गर्नसके अझै राम्रो आम्दानी गर्न सक्ने बताउनुभयो ।

यता, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले युवाहरूलाई व्यावसायिक रूपमा कृषि पेसामा टिकाइ राख्न, प्राविधिक ज्ञान र अनुदानमा सहयोग गर्दैआएको बताउनुभयो । रानाले सञ्चालन गरेको फर्मका लागि यसै आर्थिक वर्षमा करिब दुई लाख पचास हजार रुपियाँ अनुदान उपलब्ध गराएको बताउनुभयो ।

Published on: 11 July 2023 | Gorkhapatra

Link

Back to list

;