s

२१० नेपालीलाई मलेसियाबाट फर्कन दबाब

काठमाडौँ — मलेसियाको जोहोरबारुस्थित क्वाङ ली इन्डस्ट्रिज कम्पनीले दुई सय १० नेपाली श्रमिकलाई फर्कन दबाब दिएको छ । चर्चित अन्तर्राष्ट्रिय ‘सिमानो’ ब्रान्डका साइकल उत्पादन गर्ने कम्पनीले राजीनामा दिएर स्वदेश फर्कन दबाब दिइरहेको हो । कम्पनी व्यवस्थापनले लामो समय बेतलबी बिदामा बस्न वा कम्पनी छाडेर जान स्वैच्छिक राजीनामाका लागि दबाब दिएको पीडितहरूको भनाइ छ ।

नेपाली कामदारलाई काठमाडौंस्थित वर्ल्डवेज म्यानपावर (इन्क) कम्पनीले पठाएको थियो । कम्पनीमा नेपाली, बंगाली र म्यानमारका ५ सय श्रमिक कार्यरत छन् ।

सुनसरीका देवानन्द प्रतापका अनुसार कम्पनीमा पुराना नेपाली १०–२० जना मात्रै छन् । कोही ६ महिनाअघि त कोही दुई महिनाअघि मात्रै पुगेका हुन् । ‘कम्पनी व्यवस्थापनले जुन २१ देखि जबर्जस्ती राजीनामा गर्न लगाइरहेको छ । हामी स्वच्छोले नेपाल फर्कन चाहेको हो भन्न लगाएर भिडियो खिच्ने काम भइरहेको छ,’ उनले भने, ‘हामीलाई कि बेतलबी बिदामा बस कि कम्पनी छाडेर (फिनिस) जाऊ भनिरहेको छ ।’

लाखौं रकम तिरेर आएकाले ऋण नतिरी रित्तो हात स्वदेश फर्कन नसकिने पीडित श्रमिकहरूको भनाइ छ । ‘मलेसिया आउँदा तीन लाख २५ हजार एजेन्टलाई बुझाएँ । आएदेखि कहिल्यै पनि महिनाको २६ दिन काम लगाएको छैन । कसैलाई महिनाभरको तलब दिएको छैन,’ देवानन्दले भने, ‘यता आउँदाको ऋणको मासिक २४ प्रतिशत ब्याज बुझाइरहेको छु । अब कुन मुख लिएर घर जानु ?’

सप्तरीका रामकुमार महतोले आफूहरूलाई काम भएको दिन मात्रै बोलाउने गरी राख्न अनुरोध गर्दा पनि कम्पनीले नसुनेको बताए । ‘कम्पनीले निःशुल्क रूपमा बस्न र खाना दिन सकिँदैन, तिमीहरूले काम छाड्नैपर्छ भनेर दबाब दिइरहेको छ,’ उनले भने, ‘घर गएर के गर्नु, उता केही कामै छैन ।’

कम्पनीले अहिले पनि दैनिक खानाबापत १३ रिंगेट र बसाइबापत मासिक ५० रिंगेट कटौती गरिरहेको छ । दुई कोठा र शौचालय भएको एउटा फ्याल्टमा १२ जनालाई राखिएको छ । उनीहरूका लागि पकाएर खाने किचन छैन । श्रमिकलाई निकाल्ने बहानामा ससानो गल्तीमा पनि कारबाही गर्न थालेको रामकुमारले बताए । ‘एउटा सानो कमजोरी भेटिए दुई साताको तलब काटिदिन्छ,’ उनले भने, ‘साधारण बिरामी भए पनि आफैंले तिर्नुपर्छ । काममा लगाउने लुगा र जुत्ता पनि आफैंले किन्नुपर्छ ।’

आफूहरूले ठूलो रकम खर्चेर आएकाले कम्पनीले फिर्ता पठाउने भए त्यसको शोधभर्ना गर्नुपर्ने अडानमा श्रमिक छन् । ‘हामी सित्तैमा आएको होइन । घरबाट हिँडेदेखि स्वास्थ्य जाँच गर्न, अभिमुखीकरण, भिसा–टिकट र कमिसनसम्मको पैसा तिरेको छ,’ सप्तरीका मोहनकुमार महतोले भने, ‘त्यो सबै पैसा फिर्ता गरे हामीलाई आपत्ति छैन ।’ तर, रोजगारदाता कम्पनीले फर्कनका लागि हवाई टिकट मात्रै दिन सकिने बताएको छ । कम्पनीमा काम भएका बेला फेरि बोलाउन सकिने कम्पनी व्यवस्थापनको तर्क छ ।

नेपाली दूतावासले श्रमिकलाई जबर्जस्ती फिर्ता नपठाउन कम्पनीको व्यवस्थापन र मलेसियाको श्रम विभागसमक्ष आग्रह गरेको छ ।

मलेसियाका लागि श्रम काउन्सिलर भोलानाथ गुरागाईंले जोहोरबारुस्थित श्रम विभागका अधिकारीलाई यसरी श्रमिक पठाउने कार्य रोक्न आग्रह गरेका छन् । क्वालालम्पुरबाट जोहोरबारु झन्डै तीन सय किलोमिटर टाढा पर्छ । श्रम विभागले ती श्रमिकको अवस्थाबारे अध्ययन गर्न दुई अधिकृतलाई जिम्मेवारी दिएको छ ।

वर्ल्डवेज म्यानपावरका अध्यक्ष दुर्गाबहादुर घिमिरे कम्पनीले काममा नराख्ने भए अर्को कम्पनीका लागि काम गर्न दिनुपर्ने बताउँछन् । ‘कम्पनीले दुई वर्षका लागि भनेर लगेको हो । त्यसका लागि सबै कानुनी प्रक्रिया पूरा गरिएको छ,’ उनले भने, ‘काम छैन भनेर उनीहरूलाई जबर्जस्ती नेपाल पठाउन मिल्दैन । पठाउने नै हो भने दुई वर्षको एकमुष्ट तलब दिएर पठाउनुपर्छ कि अर्को कम्पनीमा काम गर्न रिलिज दिनुपर्छ ।’

Published on: 26 June 2023 | Kantipur

Link

Back to list

;