s

२१ जना कामदार क्याम्पबाट निकालिए

होम कार्की

कार्यरत कम्पनीले तलब र खाना नदिई क्याम्पबाट समेत निकालेपछि २१ जना नेपाली कामदार शरण खोज्दै आइतबार नेपाली दूतावास आइपुगेका छन् । कतारको गल्फ रियल स्टेट कम्पनीमा कार्यरत उनीहरूले आफूहरूलाई कपिलले पिट्ने, धम्काउने र हप्तौंदेखि खाना नदिएपछि शरण खोज्दै दूतावास आउनुपरेको बताएका छन् । 'हामीलाई क्याम्प बोसले बस्नसमेत दिएनन्,' दूतावास आइपुगेका गोरखाका रणबहादुर आलेले भने, 'एकहप्तदेखि निस्कन भनिरहेका थिए, तनाव थेग्न नसक्ने भएपछि सबै सामान बोकेर आएका हौं । हाम्रो एक मात्र भरोसा दूतावास हो ।'  

पीडितहरूले खाना नपाएर ठूलो तनाव झेल्नुपरेको बताए । 'दुई दिनदेखि पानी मात्रै पिएको छु,' रोल्पाका तिलक बुढामगरले भने, 'कपिलको अनुरोधमा हाम्रो खाता बन्द गरिएको छ । साथमा पैसा छैन ।' उनीहरूले गएको जनवरीयता तलब पाएका छैनन् । 'मैलै ९ महिनायता तलब पाएको छैन,' १६ महिनाअघि कतार आएका धरानका रमेश विकले भने, 'तलब नपाएकाले आउन लागेको ऋणसमेत तिर्न सकेको छैन ।'

उनीहरू अधिकांश कतार बस्ने अनुमति (आईडी) नहुँदा गैरकानुनी हैसियतमा छन् । आईडी कार्ड नहुँदा आफूहरूमध्ये अगस्तमा दुई जना साथीलाई प्रहरीले पक्राउ गरेको बताए । 'मेरो गाउँले महेन्द्रकुमार लिम्बु र दावा शेर्पा दुई महिनादेखि जेलमा छन्,' ताप्लेजुङका श्रीमान् सान्वा लिम्बुले भने, 'आईडी नहुनु हाम्रो दोष हो र ?' 

सबै कामदारले आफूहरूलाई यथासक्य छिटो घर पठाइदिन अपिल गरेका छन् । उनीहरू काठमाडौंस्थित स्काई-वे म्यानजेमेन्ट, टाइगर ओभरसिज र सान इन्टरनेसनल लगायतबाट आएका हुन् । सप्लाईमार्फत विभिन्न कम्पनीका निर्माण क्षेत्रमा कार्यरत उनीहरूको तलब ६ सयदेखि ८ सय तोकिएको छ । 'मैले ९० हजार रुपैयाँ तिरेर आएको  थिएँ,' सुकरौला रुपन्द्रेहीका सारज उदिन सामातले भने, 'कमाउन आएका मान्छे आफैं अलपत्र परियो ।'

नेपाली दूतावासका श्रम सहचारी इन्द्रदेव पाण्डेले उनीहरूको समस्या समाधान गर्न प्रयास भइरहेको बताए । 'आईडी कार्ड नभएकाले तुरुन्तै घर पठाउन गाह्रो हुने छ,' पाण्डेले भने, 'महिना दिनभन्दा बढी लाग्ने भएकाले उनीहरूको बसोवासको विषयमा छलफल भइरहेको छ ।'

Published on: 22 July 2013 | Kantipur

Back to list

;