s

जापानी जेलबाट १५ वर्षपछि नेपाली रिहा

सन्तोष घिमिर

बलात्कार र हत्याको आरोपमा १५ वर्षदेखि जापानी जेलमा रहेका नेपाली गोविन्द मैनाली निर्दोष सावित भएपछि बिहीबार रिहा भएका छन् । आजीवन काराबासको सजाय पाएका मैनालीलाई त्यहाँको उच्चतम न्यायालयले सफाइ दिएको हो । 

महिला यासुको वातानावेलाई बलात्कार गरी हत्या गरेको अभियोगमा त्यहाँको सर्वोच्च अदालतले मैनालीलाई आजीवन काराबासको सजाय सुनाएको थियो । तर, डिएनए परीक्षणपछि उनी निर्दोष सावित भएका हुन् । 
 
जापानी समाचार संस्था क्योडोका अनुसार रिहा भएलगत्तै मैनाली जापानको अध्यागमन विभागका अधिकारीसँग छन् । उनलाई योकोहामास्थित अध्यागमनले अब नेपाल र्फकने भिसा प्रक्रिया अघि बढाउनेछ ।
 
मैनालीलाई सफाइ दिने टोकियो न्यायालयका न्यायाधीश सोजी ओग्वाले डिएनए परीक्षणबाट उनी निर्दोष पाइएको बताए । 'डिएनए परीक्षणबाट मैनाली निर्दोष भेटिए । अब उनी पूर्णरूपमा रिहाइ हुनुपर्छ,' न्यायाधीश ओग्वाले क्योडोसँग भनेका छन् । जापानको टोकियोस्थित नेपाली दूतावासका उपप्रमुख तपस अधिकारीले मैनाली रिहा भएको जानकारी आएको बताए । 'मैनाली रिहाइ भएको जानकारी पाएका छौँ,' अधिकारीले इन्टरनेटबाट नयाँ पत्रिकासँग भने । 
 
४५ वर्षे मैनालीलाई जेलमुक्त गर्न सुनाइएको फैसलाविरुद्ध सरकारी वकिलले दर्ता गराएको रिट पनि टोक्योको उच्च अदालतले खारेज गरिदिएको छ । फैसलालगत्तै नेपालबाट पुगेकी उनकी श्रीमती राधा र दुई छोरी मिथिला र एलिसा हर्षविभोर भएका थिए । जन्मेदेखि बाबुको मायाबाट वञ्चित भएका दुई छोरी बाबु रिहा हुने भएपछि सबैभन्दा खुसी थिए । प्रेमविवाह गरेपछि थप सुखका लागि श्रीमान् विदेश पठाएकी राधाले श्रीमान् बलात्कार र हत्याको अभियोगमा उतै थुनिएपछि दुःखसँग दुई छोरी हुर्काएकी हुन् । मैनालीलाई चाँडै नेपाल फर्काउने सम्भावना रहेको जापानी समाचार प्रसारण संस्था एनएचकेले जनाएको छ । 
 
सन् २००३ मा मैनालीलाई आजीवन काराबासको सजाय सुनाइएको थियो । तर, गत जुलाईमा सम्पन्न डिएनए परीक्षणमा मैनाली निर्दोष भेटिएका थिए । सन् २००० मा मैनालीलाई टोकियो जिल्ला अदालतले निर्दोष रहेको बताएको थियो । तर, टोकियोको उच्च अदालतले उनीमाथि मुद्दा कायमै राखेर सुनुवाइ जारी राखेको थियो । 'अध्यागमन विभागले मैनालीलाई सुनुवाइपछि चाँडै रिहा गरिने जानकारी दिएको छ । यसका लागि थुप्रै दिन या महिना पनि लाग्न सक्छ,' एनएचकेको अनलाइन संस्करणले लेखेको छ । जापानी कानुनअनुसार प्रतिवादीहरू अदालतमा उपस्थित हुनुपर्दैन । 'उनी नेपाल फर्के पनि उनको कानुनी प्रक्रिया जारी नै रहने देखिन्छ,' एनएचकेले अनलाइनमा भनेको छ । 
 
युवती हत्याको अभियोगमा जापानमा १५ वर्षदेखि थुनामा रहेका इलामका मैनाली विभिन्न पाँच परीक्षण्ामा उनी निर्दोष देखिएका थिए ।
 
सन् १९९७ मार्च २२ मा जापानमा रोजगारीमा रहेका नेपाली नागरिक गोविन्द मैनालीमाथि यौनकर्मी यासुको वातानावेको बलात्कार गरेको अभियोग लाग्यो । जापानको शिवुया क्षेत्रको कासुया बिल्डिङको चार सय एक नम्बर कोठामा बस्ने ३९ वषर्ीया वातानावेको बलात्कार, हत्या र उनका साथमा रहेको ४० हजार येन -साढे ३ सय डलर) रुपैयाँ चोरी गरेको अभियोग लागेको थियो । 
 
यौनकर्मी महिला वातानावे मारिएको अर्पाटमेन्टनजिकै बस्ने मैनाली हत्याको अभियोगमा पक्राउ परेका थिए । मैनालीले ती महिलासँग केही दिन पहिले सम्पर्क रहे पनि हत्यामा कुनै संलग्नता नरहेको प्रस्टीकरण दिएका थिए । । यता टोकियो जिल्ला अदालतले मैनाली दोषी नरहेको भन्दै रिहा गरे पनि घर फर्किने वेला फेरि उनलाई पक्राउ गरेको थियो । 
 
नेपालको पूर्वी जिल्ला इलामका मैनालीले जीवनको ऊर्जाशील १५ वर्ष जेलमा बिताए । तर, मैनालीले बिहीबार टोकियो सर्वोच्च न्यायालयको फैसलाबाट आंशिक न्याय पाएका छन् । सन् १९९७ मा मृतक महिलाको शरीरमा भेटिएका घाउहरूको डिएनए नमुनाहरूको परीक्षण्ाबाट हत्यामा मैनाली नभई अरू कसैको संलग्नता रहेको देखिएपछि टोक्यो उच्च अदालतले उक्त मुद्दा पुनरावलोकन गर्न र मैनालीलाई रिहा गरेर मुद्दा लड्न आदेश दिएको हो ।
 
Published on: 8 June 2012 | Naya Patrika

Back to list

;