s

२०१८ मा युएईमा एक सय सात नेपालीको मृत्यु

लक्ष्मण खनाल

सन् २०१८ मा युएईमा १०७ नेपालीले ज्यान गुमाएका छन् । नेपाली दूतावास अबुधावीले सोमबार विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो । वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेर २०१८ मा ज्यान गुमाउनेमा ९८ पुरुष र नौजना महिला छन् । उनीहरूमध्ये १०३ जनाको शव नेपाल पठाइसकिएको छ । ४७ को प्राकृतिक मृत्यु, ३३ आत्महत्या र २३ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए ।

मृत्यु हुने चारजना नेपालीको शव पठाउन बाँकी रहेको दूतावासले जनाएको छ । शव पठाउन बाँकी रहेका सूर्य विकको हृदयघातका कारण मृत्यु भएको हो । उनी अवैधानिक रुपमा युएई बसेको अवस्थामा मृत्यु भएको दूतावासकी द्वितीय सचिव विष्णुकुमारी अधिकारीले बताइन् ।
 
त्यस्तै, अमृतकुमार कार्की, सृजना बराल (हत्या) र अशोक भट्टराईको मृत्युको कारण अनुसन्धानको क्रममा रहेको र उनीहरूको पनि शव प्रक्रिया पूरा गरेर छिटै नेपाल पठाइने दूतावासले जनाएको  छ । 
 
वैदेशिक रोजगारीका लागि युएई आउनेको वृद्धि भएसँगै नेपालीहरूको मृत्यु संख्या पनि बढ्दो क्रममा छ । विगत तीन वर्षको तथ्यांकलाई हेर्ने हो भने २०१५ मा ६४, २०१६ मा ६६ र २०१७ मा ८४ जना नेपालीको मृत्यु भएको थियो । युएईमा आत्महत्या गर्ने नेपालीको संख्या धेरै छ ।
 
Published on: 1 January 2019 | Naya Patrika

Back to list

;