s

२० नेपालीको उद्धार

होम कार्की
 
कुवेतको खराफी नेसनल कम्पनीमा कार्यरत नेपाली कामदारहरूमध्ये ७ महिनादेखि तलब नपाएका र आवासीय अनुमति नवीकरण नभई जरिवाना तिर्नुपर्ने अवस्थामा पुगेका २ सयमध्ये २० जनाको उद्धार भएको छ । 
 
अलपत्र परेका २० जना नेपाली कामदार आइतबार राति १० र सोमबार १० जना स्वदेश आइपुगेका हुन् । उनीहरू एयर अरेबियाको उडानमार्फत त्रिभुवन विमानस्थलमा आइपुगेका हुन् । काम र तलबविहीन भएका खराफीमा झन्डै २ सय नेपाली अलपत्र परेपछि उद्धारका लागि ९४ जना दूतावासको सम्पर्कमा पुगेका छन् । उनीहरूमध्ये प्रथम चरणमा स्वास्थ्य अवस्था कमजोर एवं पारिवारिक समस्या भएकाको उद्धार भएको दूतावासले जनाएको छ । ती कामदारको उद्धारका लागि एसओएस म्यानपावरले दूतावासलाई ९ लाख रुपैयाँ पठाएको थियो । 
 
‘अलपत्र परेकामध्ये धेरैजसो एसओएस म्यानपावरले पठाएका कामदार छन् । पठाइएको रकमबाट २० जनाको जरिवाना तिर्नुको साथै टिकट लिई स्वदेश पठाएको हो,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले कान्तिपुरलाई भने, ‘बाँकी कामदारलाई स्वदेश पठाउन आवश्यक रकम आएको छैन ।’ राजदूत हमालले समस्यामा परेका पीडित नेपालीलाई उद्धार गर्न जरिवाना र टिकटको व्यवस्था गर्नका लागि परराष्ट्र, श्रम मन्त्रालय र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई पत्र पठाएको थियो । दूतावासको पत्रको जवाफ सरकारले दिएको छैन । ‘जरिवाना नतिरी कामदारको उद्धार नहुने स्थिति छ । हामीले सम्बन्धित निकाय, म्यानपावर सबैलाई जानकारी दिएका छौं,’ उनले भने, ‘रकम पाउनासाथ कामदारको उद्धार प्रक्रिया सुरु भइहाल्छ ।’
 
स्वदेश आइपुगेका धुरकोट ३ गुल्मीका सुरेश कुँवरले आफूहरू निकै कठिनताका साथ स्वदेश आइपुगेको बताए । उनको दुई वर्षदेखि भिसा नवीकरण भएको थिएन । १ सय २५ दिनदेखि कामविहीन भएर बसेका थिए । उनले क्याम्पमा झन्डै चार सय नेपाली काम नगरी बसेका भए पनि दूतावासको सम्पर्कमा ९४ जना गएको बताए ।  
 
श्रम मन्त्रालयका प्रवक्ता भुवन आचार्यले कुवेतमा अलपत्र कामदारलाई यथाशक्य उद्धार गर्न मन्त्रालय आन्तरिक तयारीमा जुटिरहेको बताए । ‘हामी अहिले तथ्यांक संकलनमा छौं । कुन म्यानपावरले कति पठाएको भनेर बुझिरहेका छौं । कामदारको उद्धारको खर्च कसले कति व्यहोर्ने विषयमा निर्णय गर्ने तयारीमा छौं,’ आचार्यले कान्तिपुरलाई भने ।
 
Published on: 19 December 2017 | Kantipur

Back to list

;