s

२ सय जनासँग १० करोड ठगी

होम कार्की

अफगानिस्तान लैजाने भन्दै २ सय जनासँग १० करोड उठाएका झापाका दुर्गा निरौला -बायाँ तस्बिर), उनका छोरा सोमनाथ र बुहारी अजन्त तुलाधर ।

अवैध रूपमा अफगानिस्तान लैजान नसकेपछि दुई सय जनासँग कम्तीमा १० करोड रुपैयाँ ठगेर दलालको एक गिरोह फरार भएको छ । प्रतिव्यक्ति ४ लाख ६० हजारदेखि ७ लाखसम्मका दरले ठगी गरी दलाल समूह फरार भएको हो ।
 
अफगानिस्तानस्थित नाम चलेका अमेरिकी कम्पनीमा आकर्षक तलब पाउने आश्वासन दिई उनीहरूसँग यति ठूलो रकम उठाई झापाका दुर्गा निरौला, उनका छोरा सोमनाथ निरौला, बुहारी अजन्त तुलाधर फरार भएका हुन् । वैदेशिक रोजगार विभागले ठगीमा संलग्न दुर्गा निरौलाका बहिनी-ज्वाइँ नेत्रप्रसाद घिमिरेलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
 
'हामी दुई सय जनाको एउटै ग्रुपबाट लाखौं उठाएको थियो,' नुवाकोट त्रिशूलीका अमृतमान श्रेष्ठले कान्तिपुरलाई भने, 'अफगानिस्तान लैजान नसकेपछि पैसा फिर्ता दिन्छु भन्दाभन्दै सबैजना फरार भए ।' सरकारले अफगानिस्तान जान श्रम स्वीकृति दिने गरेको छैन । दलालहरूले मोटो रकम लिएर यूएईको दुबई र भारतको दिल्लीबाट अफगानिस्तान लैजाने गरेका छन् ।
 
निरौलाले पीडितलाई चार्टर्ड विमानबाट अफगानिस्तान लैजाने भन्दै दिल्लीसम्म पुर्याोएका थिए । 'अफगानिस्तान लैजाने भनेर फागुन १९ गते दिल्ली पुग्न भने । त्यही अनुसार हाम्रै खर्चमा दिल्ली पुगियो,' लेखनाथ-५, कास्कीका दिपेश रानाभाटले भने, 'तीन दिनपछि निरौलाले फोनमा योजना असफल भयो । नेपाल र्फक । काठमाडौंमा भेटौंला भनेर फर्काए ।'
 
त्यहाँ प्रहरीले शंका गर्छ भनेर दिल्लीको पर्यटकीय क्षेत्र महिपालपुरमा १५/२० जनाको गु्रपमा होटलमा उनीहरूलाई बस्न लगाइएको थियो ।
 
पीडितहरूले विभागमा उजुरी दिएपछि अभियुक्तहरूविरुद्ध रेड कर्नर नोटिस जारी गरेको विभागका अनसुन्धान अधिकृत हरिसिंह धामीले बताए । 'यस ठगी प्रकरणमा परिवार नै संलग्न रहेको देखियो,' उनले भने, 'उनीहरू सबैको सम्पत्ति रोक्का गरिसकिएको छ ।' विभागले एक सय ७५ अवैध राहदानी फेला परेपछि निरौलाविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा न्यायाधिकरणले सफाइ दिएको धामीले बताए ।
 
यसरी ठगिए निरौला काठमाडौं बालाजुस्थित माछापोखरीमा कन्काई मनी ट्रान्सफर खोलेर बस्थे । विभागका अनुसार त्यो पनि अवैध हो । त्यस ट्रान्सफरमा इराक, अफगानिस्तानबाट पठाएको पैसा लिन कामदारका आफन्त, परिवारजन र साथीभाइ आउँथे । निरौलाले त्यहींबाट अफगानिस्तान जान चाहने कामदारलाई भेट्ने, लोभ्याउने र पैसा बुझ्ने काम गर्थे ।
 
'कतारको पैसा साट्न जाँदा निरौलासँग मेरो चिनजान भयो,' पीडित वीरेन्द्रसिंह तामाङले भने, 'अफगानिस्तानमा महिनाको ३ हजार डलर कमाइ हुन्छ भनेपछि राजी भएँ ।' निरौलाले आशंका गर्नेहरूलाई अफगानिस्तानबाट पैसा पठाउने कामदारहरूको उदाहरण दिन्थे ।
 
'हामीले अलिकति आशंका गर्नेबित्तिकै उल्टै हप्काउँथे,' नुवाकोटका अमृतमान श्रेष्ठले भने, 'मैले पठाएकाले अफगानिस्तानबाट खुरुखुरु पैसा पठाइरहेका छन् । तपाईं भने आशंका गर्ने भन्थे ।' पीडितहरूसँग गएको असोजदेखि नै रकम उठाउन थालिएको थियो ।
'दिल्लीबाट फर्काएपछि पनि हामीले बारम्बार पैसा फिर्ता दिन अनुरोध गरिरह्यांै,' रानाभाटले भने, 'उनले जसरी पनि अफगानिस्तान पठाइदिन्छु भनिरहेका थिए । पछि त सम्पर्क हुनै छाड्यो ।' उनले सबैसँग ४ लाख ५० हजारभन्दा बढी रकम उठाएको पीडितहरूको भनाइ छ । सबैभन्दा बढी भापाका प्रकाशबहादुर बुढाथोकीसँग ७ लाख रुपैयाँ उठाएका थिए ।
 
निरौलाले अफगानिस्तानको काबुलस्थित अमेरिकी कम्पनीमा सुरक्षागार्ड, लेबर, ड्राइभर, क्लिनरलगायतको काम दिने आश्वानसन दिएका थिए । विभागका अधिकृत धामीले पीडितहरूको उजुरी आउनेक्रम जारी रहेको बताए ।
 
'जेल बसेर आएँ'- मीनबहादुर तामाङ, नुवाकोट 
अफगानिस्तानबाट साथीले पठाएको रकम झिक्न जाँदा निरौलालाई चिनेको हुँ । म सेवानिवृत्त सैनिक भएकाले उनले अफगानिस्तानमा सुरक्षा गार्डमा पठाउने आश्वासन दिएका थिए । उनको भर परेर ४ लाख ६० हजार रुपैयाँ बुझाएँ । भारतको बाटो हँुदै काबुल पुगियो । त्यहाँ देखाबटी रूपमा एउटा कम्पनीमा लगाइयो । २४ दिन नपुग्दै त्यो कम्पनी बन्द भयो । त्यस कम्पनीमा काम गर्दा मासिक १ हजार डलर पाएँ । कम्पनीमा लगाइदिने दलालले ६ सय डलर लिएर बाँकी मलाई दियो । कम्पनी टुटेपछि अवैध भइसकेछ । अफगानिस्तानभित्र छिरेको रेकर्ड नभएपछि आउन सकिन । एक जनाले भारतीय राहदानी छ भने पठाइदिन्छु भन्थ्यो । साथमा नेपाली राहदानी थियो । प्रहरीले पक्राउ गरेर २४ दिन हिरासतमा राख्यो । यहाँको गृह मन्त्रालयका उच्च अधिकारीको सहयोगमा आउन सफल भएँ । आउन पनि ३३ सय डलर लाग्यो ।
 
Published on: 13 June 2012 | Kantipur

Back to list

;