s

२ किशोरी बेच्ने पक्राउ

दशकअघि सिन्धुपाल्चोकको गातीका दुई किशोरी बेचेको अभियोगमा बाह्रबिसे प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । भारतमा बेचिएकामध्ये एक भागेर फर्केर दिएको जाहेरीका आधारमा गाती १ का ताराबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार बस्नेतले एउटै टोलका १६ वर्षे २ किशोरीलाई होटलमा काम लगाइदिने आश्वासनमा राजधानी काठमाडौं लगी अपरिचित युवकको साथ लगाएर भारत पठाएका थिए ।

प्रहरी निरीक्षक विष्णु लामिछानेका अनुसार तामाङ थरका २ मध्ये १ जनाको अवस्था अझै अज्ञात छ । किशोरी बेचेपछि पक्राउ पर्ने डरले फरार बस्नेतलाई तिहारमा घर आएको मौका पारेर पक्राउ गरिएको हो । उनी १९ वर्षकै उमेरमा किशोरी बेचबिखनमा लागेका थिए । बेचिएर फर्किएकी जाहेरवाला किशोरीले भनिन्, 'हामी दुवैलाई एकैपटक भारत पुर्‍याएको थियो ।' काठमाडौंको पुरानो बसपार्कमा ताराबहादुरले एक अपरिचित केटालाई उनीहरूको जिम्मा लगाएका थिए । मेरो साथी हो ऊसँग जाँदै गर एकछिनपछि आउँछु भनेर गएको ताराबहादुर आएन, किशोरीले भनिन् । उनीहरूलाई राजधानीको धोबीचौरमा राखेर त्यसै दिन राति जंगलको बाटो हुँदै अपरिचित ठाउँमा लगेर बस चढाएको थियो । हामीलाई लैजाने ताराको साथी र उसकी श्रीमती थिए ।

बसबाट ओरालेर ट्रेन चढाए । ट्रेनबाट ओर्लेपछि हामीलाई अपरिचित एक नेपाली दिदीले ट्याक्सी चढाएर एउटा घरमा लगिन् । त्यहाँ धेरै केटी थिए । हामीलाई लैजाने मान्छे भेटेनौं । हामी दुवैलाई कोठामा थुनेर राखे । तीन दिनपछि बेचिएको थाहा भयो, उनले भनिन्, 'रोईकराई गर्दा कोठीकी मालिक्नीले प्रतिव्यक्ति ५० हजार भारुमा किनेको भनिन् ।' उनी भन्छिन्, 'काठमाडौं पनि नगएको मान्छेलाई कुन बाटो कहाँ पुर्‍याए, थाहा भएन ।' 'ट्रेन चढेको मात्र याद छ,' चारैतिर तारबार लगाएको अँध्यारो कोठामा बसेर १ वर्षसम्म यौनधन्दामा लाग्न विवश भएँ, उनले भनिन् । सुरुमा त प्रतिकार गरेँ, रोएँ, त्यहाँका अरू केटीले कुट्न थाले । केही नलागेर दैनिक ३/४ जना पुरुषसँग यौनसम्पर्क गर्न बाध्य पारे । मुम्बईको उक्त कोठीमा २०/२५ केटी थिए । धेरै नेपालका थिए । कसैले पोखरा घर भन्थे, उनले भनिन् । बस्दाबस्दै भागेका ३ केटीलाई फेरि पर्काएर कोठी मालिक्नीले धेरै कुटिन्, उनी सम्झिन्छिन् । उनीसँगै गएकी अर्की किशोरीलाई अर्कै कोठीमा लगेका थिए ।

कोठीमा बेचिएकी बैंग्लोरकी एक किशोरी र उनी उपचारका लागि अस्पताल गएको मौका छोपेर १ वर्षपछि भागेकी थिइन् । केही बेर त उपचार गर्न लैजाने मान्छेले लखेट्यो तर भेट्न सकेन, भन्छिन्, नेपाल आउने बाटो थाहा थिएन । पैसा पनि थिएन ।

Published on: 21 November 2012 | Kantipur

Back to list

;