s

२ करोड ठग्ने कन्सल्टेन्सीका सञ्चालक पक्राउ

चीनमा चिकित्साशास्त्र पढाउने भन्दै सवा २ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने कन्सल्टेन्सीका सञ्चालकमध्येका एकलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । कालिमाटीस्थित एक्टिभ इन्टरनेसनल कन्सल्टेन्सी प्रालिका सञ्चालकमध्येका राजाबहादुर झालाई पाटनबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी धिरजप्रताप सिंहका अनुसार एमबीबीएस, एमबीबीए र एमडी अध्यापनका लागि उनीहरूले ३२ जनाबाट यो रकम लिएको देखिएको छ । 'पीडित विद्यार्थीको उजुरीपछि सञ्चालकहरू फरार थिए,' डीएसपी सिंहले कान्तिपुरसित भने, 'सादा पोसाकका प्रहरीले झालाई पाटनबाट पक्राउ गरेको हो ।' उक्त कन्सल्टेन्सी राजाबहादुरसहित डा. मुकेश झा, अनिता शाक्य र प्रविना खेलालीले सञ्चालन गरेका थिए ।

उनीहरूले चीनको क्विनदाव विश्वविद्यालयमा चिकित्साशास्त्र पढाउने भन्दै सञ्चारमाध्यममा विज्ञापन गरेर रकम संकलन गरेका थिए । चिकित्साशास्त्रको ३ र ६ वर्ष अध्ययनका लागि पूर्ण रकम असुलेर विद्यार्थीलाई उक्त विश्वविद्यालय पठाएका थिए । एमबीबीएस अध्ययनका लागि जनही १२ लाख र एमडीका लागि ७ लाख ५० हजार लिएको पीडितको आरोप छ । पहिलो किस्ता बुझाए पनि त्यसबाहेकको किस्ता नबुझाएको पीडितहरूले बताएका छन् ।

विश्वविद्यालयले कन्सल्टेन्सीले एक वर्षको मात्रै शुल्क भुक्तानी गरेको बताएको छ । अध्ययनका लागि शुल्क नआएको भन्दै चीनको विश्वविद्यालयले विद्यार्थीको पढाइ बीचैमा रोकिदिएको थियो । त्यसपछि विद्यार्थी नेपाल फर्किन बाध्य भएका थिए । कन्सल्टेन्सी सञ्चालकले एक वर्षको पैसामात्रै विश्वविद्यालयलाई पठाएको देखिएको प्रहरीले जनाएको छ । एक वर्षको अपूरो अध्ययनपछि समस्यामा परेका यज्ञबहादुर गुरुङ लगायतले ठगी आरोपमा कन्सल्टेन्सी सञ्चालकविरुद्ध उजुरी दिएका थिए । उजुरीपछि सबै सञ्चालक फरार थिए । झाबाहेक अन्य सबै आरोपी अझै फरार छन् । डीएसपी सिंहले फरार आरोपीहरूको खेाजी भइरहेको बताए । उजुरीमा उनीहरूले २ करोड २४ लाख ५ हजार ९ सय ३० रुपैयाँ ठगेको उल्लेख छ ।

उनीहरूले मदरल्यान्ड च्यारिटेबल फाउन्डेसनसमेत सञ्चालन गर्दै आएका थिए । २०६७ सालमा फाउन्डेसन दर्ता भएको हो । फाउन्डेसनको आर्थिक पारदर्शिता छैन । फाउन्डेसनका नाममा समेत आर्थिक चलखेल गरेको प्रहरीको अनुमान छ । पक्राउ परेका झा महोत्तरी निगौल-२ निवासी हुन् । उनीहरूले नियतवश ठगेको र उजुरीपछि कार्यालय बन्द गरेर फरार रहेको प्रहरीको भनाइ छ । उनीसहित डा. मुकेशले काठमाडौंका स्थानीय शाक्य र खेलालीसित मिलेर कन्सल्टेन्सी र फाउन्डेसन चलाएका थिए । प्रहरीले नियन्त्रणमा आएका झासित थप अनुसन्धान गरिरहेको छ । 'अन्य आरोपी पनि छिट्टै पक्राउ पर्नेछन्,' डीएसपी सिंहले भने, 'झामाथि अनुसन्धान थालिएको छ । यसबाट थप कुरा खुल्नेछ ।'

Published on: 9 December 2012 | Kantipur

Back to list

;