s

२ जेठसम्म भिसा लागेका कामदार मलेसिया जान पाउने

सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली कामदारलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै कामदारमाथि सिन्डिकेट लगाउने संस्थामाथि कारबाहीको निर्णय गर्नुअघि नै भिसा लागेका कामदारलाई अन्तिम श्रम स्वीकृति प्रदान गर्ने जानकारी दिएको हो ।
 
सरकारले कामदारसँग अतिरिक्त रकम उठाउने गरी अवैध रूपमा खडा गरिएका संस्थालाई २ जेठमा कारबाहीको निर्णय गरेको थियो । सोहीअनुरूप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारलाई अन्तिम स्वीकृतिको तयारी गरेको हो । सरकारले २ जेठमा मलेसिया जाने कामदारमाथि अवैध रूपमा हुने असुली रोक्न दबाब दिने र कारबाही प्रक्रिया अघि बढाउने गरी मलेसिया जाने सबैखाले कामदारको श्रम स्वीकृति रोकेको थियो ।
 
करिब चार सयजना कामदारले त्यसरी भिसा लागेर पनि कामका लागि जान नपाएको अनुमान गरिएको छ । भिसा प्रक्रिया पूरा गरिसकेका कामदार पनि जान पाएका छैनन् । भिसा लागेका कामदारलाई अन्तिम श्रम स्वीकृति दिएर रोजगारीमा जान दिन व्यवसायीले माग गर्दै आएका थिए ।
 
मन्त्रालयका प्रवक्ता प्रकाश दाहालद्वारा जारी विज्ञप्तिमा मलेसिया जाने श्रमिकमाथि अनुचित असुली गरी विगतमा भएको ठगी अन्त्य गरी सहज प्रक्रियाबाट रोजगारीमा जाने व्यवस्था मिलाउन मन्त्रालय गम्भीर रहेको उल्लेख छ । विज्ञप्तिमा गैरकानुनी र अनुचित ढंगले श्रमिकमाथि भएको शोषण बन्द गरी समाधान खोज्न विभिन्न माध्यमबाट पहल भइरहेको जनाइएको छ ।
 
Published on: 23 July 2018 | Naya Patrika

Back to list

;