s

२ वर्षदेखि साउदीमा शव

प्रकाश अधिकारी

जगनाथ गाविस-७ मन्घरका बखतबहादुर थापाको साउदी अरबमा मृत्यु भएको असोज २१ गते दुई वर्ष पूरा हुन्छ । राम्रो आम्दानी हुने सपना लिएर गाउँकै साथीसँग साउदी पुगेका २९ वर्षीय थापाको ६ महिना नबित्दै दुर्घटनामा परेर मृत्यु भएको थियो । परिवारले अहिलेसम्म शव झिकाउन सकेका छैनन् । परिवारका सदस्य थुपै्रपटक काठमाडौं पुगे । परराष्ट्र मन्त्रालय र म्यानपावर कम्पनी धाउँदा हजारौं खर्च भयो । तैपनि शव झिकाउन नसकेपछि आफन्त हैरान छन् । शव ल्याउन सक्ने वा नसक्नेमा थापा परिवार अन्योलमा छन् ।

'शव देख्न पाए पनि सन्तोष हुन्थ्यो,' जिविसको सिफारिसका लागि सदरमुकाम आएका मृतकका जेठान धनबहादुर बुढाले भने, आशा मार्ने बेला भइसक्यो । तर सरकारले हेरेन । सुवास विजय एसोसिएसन प्रालि काठमाडौंमार्फत उनी साउदी पुगेका थिए । शव नदेखेपछि परिवारले काजकिरिया पनि गर्न सकेको छैन । न त ऋण तिर्न सकेको छ ।

गाउँकै विभिन्न व्यक्तिबाट १ लाख ३५ हजार ऋण लिएर ०६५ वैशाखमा साउदी पुगेका उनी रियादस्थित सामामा कोफर अपरेसन एन्ड  कम्पनीअन्तर्गत मेनेजमेन्टमा क्लिनरमा कार्यरत थिए । उनको ०६६ असोज २१ गते आजामा भन्ने ठाउँमा गाडीको ठक्करबाट मृत्यु भएको कम्पनीद्वारा जारी पत्रमा उल्लेख छ ।

थापाका श्रीमती र दुई नाबालक छोराछोरी छन् । सासू- ससुरा नभएकाले बहिनीलाई बालबच्चा हुर्काउने र ऋण तिर्ने चिन्ताले दिनरात सताउन थालेको जेठान धनबहादुरले बताए । शव नआउने भएपछि परिवारले साउदीमै दाहसंस्कार गराउन कागजात तयार गरिरहेको छ । गाउँले साथी बमबहादुर खड्काले घटनाको एक दिनपछि मृत्यु को खबर परिवारलाई सुनाएका थिए । 'शव ल्याउन ५/६ पटक काठमाडौं पुग्यौं । क्षतिपूर्ति रकम पाउनेसमेत अत्तोपत्तो भएन,' धनबहादुरले भने ।

Published on: September 2012 | Kantipur

Back to list

;