s

१९ महिनाको प्रयासपछि १३ नेपाली साउदीबाट उद्धार

साउदी कपिलले रकम नलिई नपठाउने अडान राखेको १९ महिनापछि १३ जना नेपालीको उद्धार भएको छ । ५ जना नेपाली टिकटको प्रतीक्षामा छन् ।
 
साउदीको जेद्दास्थित नेपाली महावाणिज्य दूत, नेपाली साझा मञ्च र पीडितका परिवारका सदस्यको निरन्तर प्रयासपछि ती पीडितलाई नेपाल ल्याउन सकिएको हो । पीडितलाई म्यानपावर कम्पनीले टिकट उपलब्ध गराएको छ । 
 
वैदेशिक रोजगार विभागले कामदारको उद्धार नभएसम्म खाना र बस्ने व्यवस्था गर्न दबाब दिएपछि पछिल्लोपटक म्यानपावर कम्पनी निकै दबाबमा परेका थिए । १७ जना युवाहरूमध्ये ११ जना इमास्को नेपाल, ५ जना नाइल ओभरसिज र एक जना आरपी इन्टरनेसनलबाट पठाइएका थिए । पीडितका अनुसार उनीहरूलाई एजेन्ट ईश्वर राना, विकास गुरुङ, उदयराज ढकाल, भीम कोइराला, चीजकुमार श्रेष्ठ, अनिल गुरुङ, चित्रबहादुर सिञ्जाली, लीलामणि श्रेष्ठ र आशा लामा हुन् । 
 
पीडितहरू यान्बुमा असुरक्षित भएपछि सुरक्षा र न्याय खोज्दै जेद्दा आइपुगेका थिए । जेद्दामा विष्णु न्यौपाने, बालकुमार राई, अञ्जन पोखरेल, राधाराम घिमिरे, ध्रुव रिजाल, चेतनाथ निरौला र मीन गुरुङले खाना र बासस्थानका लागि सहयोग गरेको नेपाली साझा मञ्चका अभियन्ता महेश श्रेष्ठले बताए । 
 
दूतावासको कार्यालयभित्र बास बस्न नमिलेपछि उनीहरूलाई एक सातासम्म बालकुमार राईले आफूले काम गर्ने कम्पनीमा लगेर राखेका थिए । त्यसपछि दूतावासले कार्यालय भवनभित्रै बासको प्रबन्ध मिलाएको थियो । 
 
उनीहरूलाई उद्धार गरी पठाउन कार्यबाहक महावाणिज्य दूत रेवतीरमण पौडेल र सहचारी मनहरि दंगालले मदिनास्थित उच्च कोर्टमा बहस गरेका थिए । यान्बु लेबरकोर्टले समेत श्रमिकहरूको पक्षमा बोलेको भए पनि मदिना उच्च कोर्टले कम्पनी र कामदारका बीचमा एक महिनाभित्रमा सहमति गर्न समय दिएपछि ६ हजार रियाल लिएर मात्रै भिसा लगाउने अडान लिएको कम्पनीले कुनै पनि प्रकारको रकम नलिई एक्जिट भिसा दिन बाध्य भयो । 
 
पीडित बाबुराम रेग्मीका अनुसार म्यानपावर व्यवसायी समशेर गुरुङले उनीहरूको लागत खर्च पनि फिर्ता गर्ने वचन दिएका छन् ।  साउदी अरब आएदेखि ४ महिनाको आंशिक तलब र ९ महिनाको पूरा तलब नपाएका उनीहरूले लेबरकोर्ट गुहार्दा भगौडा बनाउन र जेल हाल्न अनेकपटक कम्पनीले षड्यन्त्र गरेको अभियान्त श्रेष्ठले बताए ।
 
कम्पनीले १७ जनालाई एक्जिट भिसा दिए पनि तलब भने दिएन । पीडित हुने कामदारमा श्यामबहादुर गुरुङ नुवाकोट, नन्दबहादुर तिमिल्सिना मोरङ, रवीन्द्रविक्रम चन्द कञ्चनपुर, जमलउद्दिन मियाँ सुनसरी, भुवन श्रेष्ठ खोटाङ, प्रेमकुमार वाइबा सिन्धुली, देवबहादुर कुशबाहक रौतहट, अमरबहादुर रौतहट, दामोदर पन्थी लमजुङ, विष्णुबहादुर मल्ल पर्वत, ऋषि गिरी लमजुङ, हर्कबहादुर तामाङ धादिङ, फूलकुमार यादव सिरहा, बाबुराम रेग्मी उदयपुर, रमेश श्रेष्ठ सुनसरी र भरत राना काभ्रे रहेका छन् । 
 
नेपालबाट एक हजार साउदी रियाल र खान–बस्न दिने सम्झौतामा साउदी अरबको यान्बुस्थित सादअल अल अमिद कम्पनीले ल्याएर तीन महिनासम्म २ सय रियाल र त्यसपछि मासिक आठ सय रियाल र खान बस्न दिने सर्तमा काम लगाएको थियो ।
 
नौ महिनासम्म पनि तलब नदिएपछि उनीहरू ७ महिनाअघि लेबर कोर्ट गुहार्न पुगेका थिए । यान्बु लेबर कोर्टले कम्पनीलाई चारपटकसम्म बोलाउँदा पनि नआएपछि कारोबार रोक्का गरेर मुद्दा माथिल्लो कोर्ट मदिनामा पठाएको थियो । सोही कम्पनीमा १७ जना पीडितहरूबाहेक एक सय ५० भन्दा बढी नेपाली रहेका छन् । उनीहरूलाई विभिन्न स्थानमा छुट्टाछुट्टै काममा लगाएर उनीहरूको पनि श्रम शोषण गरिएको छ । उनीहरूले आफूहरूलाई फसाइएको थाहा पाई तत्कालै दूतावासमा सम्पर्क गरेर जानकारी गराउनुका साथै नेपालमा महानगरीय प्रहरी अपराध महाशाखामा उजुरीसमेत पठाएका थिए । 
 
Published on: 6 November 2017 | Kantipur

Back to list

;