s

१८ महिनादेखि काबुलमा बेरोजगार नेपाली भन्छन् –उद्धारको पर्खाइमा छौँ

चार महिनादेखि १८ महिनाअघिसम्म काबुल पुगेका नेपाली कामविहीन भएका छन् । उनीहरू अन्योलपूर्ण परिस्थितिमाझ स्वदेश फिर्ताको पर्खाइमा छन् । नेपाली सेनाका अवकाशप्राप्त तीनजना र भारतीय सेनाबाट अवकाशप्राप्त १० जना नेपाली काबुलको रोशन प्लाजा होटेलमा छन् । प्रतिव्यक्ति नेपाली दलाललाई सात लाख र काबुलस्थित अफगानिस्तानका दलाललाई चारदेखि आठ लाख रुपैयाँ थप तिरेको, तर काम नपाएको उनीहरूले बताए । एक महिनाभित्र जागिर हुने र मासिक एक लाख २० हजार नेपाली रुपैयाँबराबर कमाइ हुने आश्वासनमा आएको, तर बेरोजगार भएर बसेको उनीहरूको दुःखेसो थियो ।

गोरखाका बमबहादुर गुरुङ, भीमबहादुर गुरुङ, चितवनका मोहन गुरुङ, पोखराका रामबहादुर गुरुङ, रमेश गुरुङ र लालबहादुर रानामगर, कैलालीका सूर्यबहादुर जिसी, तनहुँका मानबहादुर गुरुङ, पाल्पाका फत्तबहादुर थापा, स्याङ्जाका हर्कबहादुर राना, तनहुँका प्रकाश थापामगर र लमजुङका बालकृष्ण श्रेष्ठ काबुलस्थित होटेलमा छन् । यीमध्ये सूर्यबहादुर, हर्कबहादुर र बालकृष्ण भूतपूर्व नेपाली सैनिक हुन् भने बाँकी भूतपूर्व भारतीय सैनिक हुन् ।

‘हामीमध्ये १८ महिनादेखि यहाँ आएर काम नपाएका बालकृष्ण श्रेष्ठ हुनुहुन्छ, कम्तीमा चार महिनादेखि १८ महिनासम्म यहाँ बसेर काम नपाएको अवस्थामा हामी छौँ,’ आइतबार सम्पर्कमा आएका गोरखाका बमबहादुर गुरुङले टेलिफोनमा भने । उनीहरूलाई अफगानिस्तानका स्थानीय एजेन्टले काम लगाइदिने आश्वासन दिएको छ । ‘हामीहरूलाई सोमबारसम्म कुनै दूतावासको जिम्मा लगाइदिने, काम लगाइदिने र स्वदेश फर्कनुपरेमा उनीहरूले नै फर्काइदिने व्यवस्था हुन्छ भनिएको छ,’ गुरुङले भने, ‘हाम्रो कागजातसमेत उनीहरूसँगै छ ।’ काम नदिए पनि काबुलमा उनीहरूलाई खाने–बस्ने बन्दोबस्त छ । ‘हामीलाई आत्तिनुपर्दैन, यहीँ काम गर्दा हुन्छ भनेका छन्, तर हामी फर्किन चाहन्छौँ,’ उनले भने ।

Published on: 16 August 2021 | Nayapatrika

Link

Back to list

;