s

१६ घन्टा साइकल चलाएर नेपाल प्रवेश

माेहन विष्ट

 

कञ्चनपुरको बेलौरी नगरपालिका– ५ भकुण्डाका वीरबहादुर राना र उनकी पत्नी पद्मा राना भारतको उत्तर प्रदेश मुरादाबादमा मजदुरी गर्दै आएका थिए । नेपालमा हिउँदे खेती सकेर कामका लागि भारत पसेका उनीहरू लकडाउनले गर्दा लामो समयसम्म उत्तै अड्किए । डकडाउन खुलेर यातायातका साधन चल्ने कुनै टुंगो नभएपछि उनीहरू पुरानो साइकल किनेर सोही साइकलमा मुरादाबाददेखि महेन्द्रनगरसम्म (एक सय ६५ किलोमिटर) आए । हुन त सामान्य अवस्थामा सार्वजनिक यातायातले यो दूरी साढे चार घन्टामै पार गर्छ । तर, उनीहरूलाई नेपाल आइपुग्न साइकलमा १६ घन्टा लागेको बताए ।

भारतको राजधानी दिल्ली, बेंग्लाेरलगायतका ठुल्ठूला सहरबाट बस रिजर्भ गरेर सीधै वनबासा नाका हुँदै नेपाल प्रवेश गर्नेको पनि कमी छैन । तर, उनीहरूलाई वनबासाबाट बेलौरी पुग्न फेरि कि त पैदल यात्रा वा साइकल किनेर आउनुपर्ने हुन्थ्यो । जिपभाडा मात्रै २० हजार भारु लाग्ने उनीहरूले बताए । सोही कारण दुवैजना साइकलमै नेपाल आएका हुन् । आइतबार वनबासा नाका भएर गड्डाचौकीमा साइकलमै पुगेका वीरबहादुर रानाले कमजाेर आर्थिक अवस्था र बसमा कोरोनाको जोखिमका कारण पनि नआएको बताए । ‘हामी मजदुरसँग हजारौँ रुपैयाँ तिरेर जिप बुकिङ गर्ने क्षमता भएन,’ उनले भने, ‘अन्यत्रबाट आउने बसमा कोरोनाको डर पनि धेरै हुन्छ ।’ कोरोना भाइरसबाट बाँच्नका लागि पनि सुरक्षित रूपमा साइकलमा आएको उनले बताए ।

गाउँमा पुगेपछि उनीहरूले क्वारेन्टाइनमा बस्ने वाचा गरेका छन् । लकडाउन लम्बिएसँगै भारतमा अलपत्र परेका नेपालीलाई सहजै नेपाल प्रवेश गराउन १२ जेठदेखि पश्चिमी गड्डाचौकी नाकाबाट प्रवेश अनुमति दिइएको छ ।

Published on: 7 June 2020 | Nayapatrika

Link

Back to list

;