s

१६ हजारलाई सीपमूलक तालिम

रोजगार कोषअन्तर्गत 'हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपाल' ले १६ हजार युवालाई यो वर्ष सीपमूलक तालिम तथा रोजगारी दिने घोषणा गरेको छ । उसले युवा उद्यमशीलताका लागि सहयोग गर्नेसमेत जनाएको छ ।

१८ देखि ४० वर्ष उमेर समूहका महिला तथा पुरुषलाई विभिन्न सीपमूलक तालिम दिइने मंगलबार पत्रकार सम्मेलन गरी कोषले जनाएको छ । आर्थिक रूपले अति विपन्न तथा विशेष अवस्थाका युवाका लागि रोजगारीसमेत दिइने उसले उल्लेख गरेको छ । कार्यक्रम सञ्चालनका लागि स्वीस सरकार विकास सहयोग -एसडीसी) र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग -यूकेएड) को सहयोग छ । कार्यक्रम ६० भन्दा बढी जिल्लामा लागू हुनेछन् ।

कोषका अनुसार कार्यक्रमको पहिलो चरणमा रोजगारी सिर्जनाका लागि ४ हजार युवालाई लघु उद्यम तालिम दिइनेछ । त्यसनिम्ति जुनसुकै शैक्षिक योग्यता र आर्थिक अवस्था भएका युवा सहभागी हुन सक्नेछन् । विशेष अवस्था भएका १२ हजार युवालाई सीपमूलक तालिम दिएर रोजगार बनाइने कोषले जनायो ।

तिनमा अपांगता, एचआईभी संक्रमण भएका, सडक तथा अनाथ बालबालिका, लैंगिक हिंसामा परेका महिला, कैदी तथा पूर्वकैदी, पूर्वकमैया तथा बाँधा मजदुर, सुकुम्बासी पर्नेछन् । उनीहरूको आर्थिक हैसियतअनुसार तालिम अवधिभर यातायात, खाना वा खान, बस्नसमेत दिइनेछ । तालिमका निम्ति प्रतिव्यक्ति सरदर ५० हजार लगानी गरिनेछ । सन् २००७ मा स्थापना भएयता कोषले बर्सेनि १५ हजार सामाजिक विभेदमा परेका तथा आर्थिक रूपले पछाडि पारिएका युवाहरूलाई सीपमूलक तालिम दिएर रोजगार बनाउँदै आएको हेल्भेटासका सञ्चार अधिकृत कोमल भट्टले जनाए ।

सामुदायिक विद्यालय सुधार्न युवा

टिच फर नेपालले २५ जना युवालाई सिन्धुपाल्चोक जिल्लाभरिका सार्वजनिक विद्यालयमा पढाउन पठाएको छ । राजधानीमा आयोजित कार्यक्रममा उनीहरूलाई कार्यक्षेत्रमा खटाइएको घोषणा गरिएको थियो । संस्थाले सार्वजनिक आवेदन आह््वान उनीहरूलाई छनोट गरेको हो ।

इन्जिनियरिङ, पत्रकारिता, शिक्षण, व्यवसाय, मानविकी तथा समाजशास्त्रजस्ता विविध क्षेत्रबाट आएका टिच फर नेपालका नयाँ सहभागीले कमजोर अवस्थाका सरकारी विद्यालयहरूमा दुई वर्ष पढाएर नेपालको शैक्षिक क्षेत्रमा रहेको असमानतालाई हटाउने प्रतिबद्धता व्यक्त गरेका छन्् । कार्यक्रममा टिच फर नेपालका सहस्थापक तथा सीईओ शिशिर खनालले नेपालमा ८० प्रतिशतभन्दा बढी बच्चा सार्वजनिक विद्यालयमा भर्ना हुने गरेकामा ३० प्रतिशतमात्र एसएलसी उत्तीर्ण गर्ने भएकाले उनीहरूलाई प्रशिक्षित गर्न अभियान थालिएको बताए ।

सार्वजनिक विद्यालयहरूमा टिच फर नेपालका सहभागीले गणित, विज्ञान र अंग्रेजी विषय पढाउने छन् । संस्थाका ३१ जनाको पहिलो समूहले ललितपुर जिल्लाका १६ विद्यालयहरूमा पढाइरहेका छन् । संस्थाले हरेक वर्ष आफ्ना सहभागीहरूको संख्या बढाउँदै लाने जनाएको छ । दुई वर्षको कार्यावधिमा सहभागीहरूले लिडरसिप ट्रेनिङ प्रोग्राम र वर्कसपहरूमा सहभागी हुने मौका प्राप्त गर्नेछन् ।

Published on: 12 February 2014 | Kantipur

Back to list

;