s

१६ वर्षपछि र्फकने भइन् खोसिएकी छोरी

प्रताप बिष्ट

अज्ञात व्यक्तिले खोसेर लगेकी छोरी एकाएक १६ वर्षपछि घर फर्किने खबर आएपछि ६० वर्षीया अम्बिका उप्रेतीलाई अहिले खुसीको सीमै छैन । काम खोज्दै दिल्ली पुगेकी हेटौंडा-६ शान्तिटोलकी अम्बिकाको साथबाट ९ वर्षकी छोरी सीतालाई त्यहाँको रेलवे स्टेसनमा अपरिचित व्यक्तिले खोसेर लगेका थिए ।  

'छिमेकीको लहैलहैमा २०५२ पुसमा काम खोज्दै कान्छी छोरीलाई लिएर भारत गएकी थिएँ, दिल्ली पुगेलगत्तै रेलवे स्टेसनबाट अपरिचित व्यक्तिले खोसेर लगे,' गहभरि आँसु पार्दै अम्बिकाले भनिन्, '९ वर्षीया छोरीलाई लगेपछि रेलबाट ओर्लेर रुँदै/कराउँदै खोजी गरें तर कतै फेला नपारेपछि रित्तो हात फर्किएँ ।' 

हाल २५ वर्ष पुगेकी सीता दिल्लीको निर्मलछाया कम्प्लेक्सस्थित 'महिला सुरक्षित गृह' मा छिन् । फेला परेदेखि नै सोही गृहमा बस्दै आएकी उनले आफ्नो घर हेटौंडामा भएको बताउँदै फिर्ने इच्छा राखेपछि आफन्त खोजी गरिदिन त्यस गृहले दिल्लीस्थित नेपाली दूतावासमा सम्पर्क गरेको थियो । उक्त गृह भारत सरकारको स्वामित्वमा छ । उनी कसरी सुधार गृह पुगिन् भन्ने चाहिँ खुलेको छैन । 

'१६ वर्षदेखि केयर होमको संरक्षणमा बस्दै आएकी सीताले एक वर्षदेखि आफ्नो घर र्फकने चाहना गरिछन् । त्यस गृहले आफन्त पाए सीतालाई जिम्मा लगाउने भन्दै दूतावासमार्फत खोजी गरिदिन पठाएको पत्र आएको छ,' प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराईले भने, 'आफन्त पत्ता लागेकाले उनलाई स्वदेश ल्याउन हामी पहल गर्छौं ।' सीताले टिपाएको आमा, दाजु र घरठेगानाको आधारमा प्रशासनले आफन्तको खोजी गरेको थियो । 

छोरीलाई छिट्टै भेट्न अम्बिका निकै आतुर छिन् । 'कामको खोजीमा हिँडेको २१ दिनमा एक्लै घर र्फकंदा छिमेकी र घरका बूढाले छोरी बिक्री गरेर आई भनेर उल्टै मलाई असह्य हुने गरी गाली गरेका थिए । त्यसपछि कैयौं रात आँसुले कटाएँ,' खेतमा घाँस काटिरहेकी अम्बिकाले भनिन्, 'छोरी घर फिरेपछि बल्ल मैले राहत पाउनेछु ।'

Published on: 11 October 201 | Kantipur

Back to list

;