s

१६ वर्षपछि छोरा भेटिँदाको खुसी

गोपाल छन्त्याल

६ वर्षको उमेरमा हराएका म्याग्दी बेनी नगरपालिका–३ भकिम्लीका विक्रम पुन १६ वर्षपछि भेटिएका छन् । काठमाडौंको सामाखुसीबाट ०५९ जेठ ७ गते हराएका विक्रम तिलोत्तमा नगरपालिका–१५ कटिहवा रूपन्देहीमा रहेको नेपाल अविनाश अनाथ आश्रमबाट परिवारको सम्पर्कमा आएका हुन् । विक्रमका बुवा डिल्लीराम रोजगारको सिलसिलामा बहराइन रहँदा दुर्घटनामा घाइते भएपछि घर फर्केर छोराछोरीको पालनपोषणका लागि काठमाडौंमा होटल व्यवसाय गर्दै आएका थिए ।

सोही क्रममा केही समयपछि विक्रम बेपत्ता भएका थिए । परिवारले चौतर्फी खोजी गरे, तैपनि उनको अवस्था अज्ञात रहेको थियो । अपरिचित व्यक्तिले भारतको उत्तर प्रदेश पुर्याएका विक्रमले एक होटलमा काम गर्न लगाएको र होटलका मालिकलाई आमा भन्न लगाएको बयान दिएका छन् । कुनै किसिमको सञ्चार सुविधा उपयोग गर्न नदिएका विक्रमलाई त्यहाँ क्रियाशील नेपाली एकता समाज, बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्था र नेपाल प्रहरीको सहयोगमा मंगलबार उद्धार गरी नेपाल ल्याइएको हो ।
 
अविनाश अनाथ आश्रममै कार्यरत भकिम्लीकी पवित्रा रसाइलीसँग विक्रमको भेट भएपछि परिवारको सम्पर्कमा आए । जिउँदै भेटिने आस न्यून रहेको छोरा पत्ता लागेपछि परिवारमा खुसीको सीमा छैन । ‘त्यतिबेलादेखि हामीले प्रहरीदेखि भारतमै पुगेर पनि बुझ्ने प्रयास गर्यौ, अहिलेजस्तो सञ्चार र सञ्चारमाध्यम थिएन’, विक्रमका बुवा डिल्लीरामले भने, ‘पछिल्ला वर्षहरूमा हामी थकित भएका थियौं र आस मारिसकेका थियौं ।’ १६ वर्षपछि परिवारसँग मिलन हुँदा विक्रम पनि प्रफुल्ल छन् ।
 
‘भारत हुँदैे छोराको उद्धार भएको जानकारी पाएपछि हामी आश्रममा पुग्यौं, छोराको सानो छँदाको तस्बिर र उनको शारीरिक हुलिया मिलेपछि हामीले छोराको पहिचान गरी ल्याएका छौं’, डिल्लीरामले भने । भारतको उत्तर प्रदेशमा रहेका नेपाली संघसंस्था र प्रहरीको सहयोगमा विक्रमसँगै ४ नेपालीलाई अभिभावकको खोजी कार्य नहुदाँसम्म आश्रमको जिम्मा लगाइएको थियो । आश्रमका अध्यक्ष कृष्णप्रसाद ज्ञवालीले विक्रमको ठेगाना जानकारी पाएलगत्तै परिवारको खोजी गरिएको बताए ।
 
रूपन्देही प्रहरीले समेत अभिभावकको हुलिया, पुराना निवेदनलगायत कागजातलाई पुष्टि गरेपछि बुधबार परिवारको जिम्मा लगाइएको उनको भनाइ छ । ‘पवित्रा पनि यही काम गर्ने र एउटै गाउँको भएकाले परिवारको खोजी कार्यमा सजिलो भयो’, उनले भने । छोरा भेटिएपछि परिवारमा खुसीयाली छाएको छ । ‘छोराका खोजीमा बिताएका सबै दुःख बिर्सिएको छु, छोरालाई भगवान्ले जोगाएर घर फर्काइदिनुभयो’, विक्रमकी आमा रञ्जिताले भनिन् ।
 
Published on: 27 July 2018 | Annapurna Post

Back to list

;