s

१५ मुलुक राजदूतविहीन

मैना धिताल

दर्जनभन्दा बढी मुलुकमा लामो समयदेखि राजदूत नियुक्त हुन नसक्दा अन्तर्राष्ट्रिय जगत्मा नेपालको कूटनीतिक छवि खस्किएको छ । राजदूत खाली भएका मुलुकको संख्या १५ पुगिसकेको छ ।

कूटनीतिक सम्बन्धमा उच्च महत्त्व राख्ने छिमेकी भारतमा झन्डै ३ वर्षयता राजदूत नियुक्त हुन सकेको छैन । थाइल्यान्डमा पनि लामो समयदेखि खाली छ । परराष्ट्र मन्त्रालयका अनुसार राजदूत खाली रहेका अन्य मुलुकमा ब्राजिल, क्यानडा, इजिप्ट, जर्मनी, कुवेत, कतार, श्रीलंका, बेलायत, अमेरिका, स्विट्जरल्यान्ड, साउदी अरब, ओमन र बहराइन छन् । 'भारतजस्तो महत्त्वपूर्ण सम्बन्ध भएको ठाउँमा ३ वर्षसम्म राजदूत पठाउन नसक्नु कूटनीतिको जिम्मा उनीहरूलाई नै छाडेको जस्तो भयो,' पूर्वराजदूत भेषबहादुर थापाले कान्तिपुरसँग बुधबार भने, 'यसले अन्तर्राष्ट्रिय रूपमै नेपालको छवि खस्केको छ ।'

प|mान्समा जेठ-असारदेखि खाली हुँदैछ । ओमान र बहराइनमा कन्सुलर शाखा खोलिए पनि कामदारको बढ्दो संख्या र अन्य महत्त्वका हिसाबले राजदूत नै नियुक्त गर्न सक्ने आधार रहेको सम्बद्ध अधिकारीले जनाए ।

'लामो समयसम्म राजदूत नियुक्त नहुँदा सम्बद्ध मुलुकले आफूसँगको सम्बन्धलाई महत्त्व नदिएको ठान्न सक्छ,' दक्षिण कोरियाका लागि पूर्वकार्यवाहक राजदूत यादव खनालले भने, 'सम्बद्ध मुलुकको उच्च तहमा पहुँच हुन सक्दैन ।' कार्यवाहकबाट काम चलाउँदा उच्चस्तरीय फोरमका बैठकमा सहभागिता हुन नसक्ने उनले बताए ।

'आफ्नै सरकारले पनि कर्मचारी भनेर उसलाई महत्त्व दिँदैनन् र नेपाली डायस्पोराले समेत गन्दैनन्,' उनले भने, 'यस्तो अवस्थामा दूतावासले राम्ररी काम गर्न सक्दैन, मुख्य पदाधिकारी नै छैन भने संस्थाले कसरी काम गर्न सक्छ ?' अन्तर्राष्ट्रिय अभ्यासअनुसार राजदूतले कार्यभार सम्हाल्नु ६ महिनाअघि नै नियुक्त गरिन्छ ।

उक्त समयलाई नियुक्त हुने व्यक्तिले सम्बद्ध मुलुक र आफ्नो क्षेत्रसम्बन्धी जानकारी हासिल गर्ने समयका रूपमा लिइन्छ । तर, नेपालमा नियुक्ति हुनासाथ जानुपर्ने अवस्था छ । 'यतिका धेरै मुलुकमा राजदूत खाली हुँदा पनि नियुक्ति हुन नसक्नु देशकै अस्तित्व कमजोर देखियो,' खनालले भने । आर्थिक कूटनीतिको भूमिका महत्त्वपूर्ण बन्दै गएका बेला राजदूत नहँुदा वैदेशिक प्रत्यक्ष लगानी, पर्यटन र व्यापार प्रवर्द्धनका क्षेत्र पनि ओझेलमा पर्ने विज्ञको भनाइ छ । 'लामो समयदेखि खाली हुनु राम्रो होइन,' परराष्ट्रका प्रवक्ता दीपक धितालले भने, 'नयाँ सरकार बनेको छ, अब प्रक्रिया अघि बढ्छ ।' कूटनीतिमा अहिले जुन खाडल छ, त्यसलाई पूरा गर्न कुन व्यक्ति कहाँ पठाउँदा सम्बन्ध राम्ररी विस्तार गर्न सकिन्छ भन्ने ठम्याएर सही प्रतिनिधि पठाउन सक्नुपर्ने पनि उनले बताए ।

Published on: 06 March 2014. | Kantipur

Back to list

;