s

१५ महिनामा ३४ हजार नेपाली युएई भित्रिए

उमाकान्त पाण्डे

पछिल्लो १५ महिनामा ३४ हजार भन्दा धेरै नेपाली युएई भित्रिएका छन । दूतावासले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् २०१८ जनवरीसम्ममा ३४ हजार ३ सय नेपाली युएई आएका हुन ।

तथ्याङ्क अनुसार कामदार भिसामा आउनु भन्दा भिजिट भिसामा आएर युएईमै काम खोज्ने नेपाली बढेको देखिएको छ । दूतावसले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार रोजगारीका लागि युएई आउने नेपालीको संख्या पनि बढेको छ । दुई वर्ष अघिको भन्दा झण्डै २५ हजार जना नेपाली बढेका छन् । 
 
१५ महिना पहिले युएईको परराष्ट्र मन्त्रालयको तथ्याङ्क अनुसार २ लाख ४ हजार १ सय जना नेपाली युएईमा कार्यरत थिए । अहिले यो संख्या बढेर २ लाख २४ हजार ९ सय ५ जना पुगेको छ । 
 
युएईमा ५ सय ४५ जना नेपाली विद्यार्थी विभिन्न शैक्षिक संस्था र विश्व विद्यालयमा अध्ययन गरिरहेको तथ्याङ्कमा उल्लेख छ । दूतावासले युएईको परराष्ट्र मन्त्रालयसँग समन्वय गरी बिहीबार नयाँ तथ्याङ्क सार्वजनिक गरेको हो ।
 
दुई वर्ष अघिको तथ्याङ्क अनुसार ९१ दशमलव ६४ प्रतिशत पुरुष र ८ दशमलव ३६ प्रतिशत महिला थिए । तर यो वर्ष भने महिला र पुरुषको संख्या छुट्याइएको छैन् । श्रम मन्त्रालय, वैदेशिक रोगार विभागका अनुसार २०५० सालदेखि २०७३ सम्ममा ४ लाख ४५ हजार ८ सय ११ जना नेपाली श्रम स्वीकृती लिएर युएई आएका थिए ।
 
तर युएई आएर यतैबाट अरु देश जाने, करार अवधि सकेर नेपाल फर्किने लगायतको तथ्याङ्क राख्ने व्यवस्था नहुँदा यकिन विवरण छैन् ।
 
कार्यवाहक राजदूत फुयाँल शिष्टाचार भेटघाटमा 
 
युएईका लागि कार्यवहाक राजदूत सागरप्रसाद फुयाँलले शिष्टाचार भेटघाट सुरु गर्नुभएको छ । राजदूत फुयाँलले दुई देशको कुटनीतिक सम्बन्धको विकासमा गतिशिलता प्रदान गर्न कुटनीतिक भेटघाट र छलफल बढाएको बताउनुभयो ।
 
एक महिना पहिले कार्यभार सम्हालेका फुयाँलले यसै साता आबुधाबीको प्रहरी केन्द्रीय कार्यालयमा कारागार सुधार तथा सजाय स्थापना निर्देशक ब्रिगेडियर सेफ अली अलत्केबीसँग भेटघाट गर्नुभएको थियो । 
 
यस्तै बिहीबार युएईको परराष्ट्र एंव अन्तर्राष्ट्रिय सहयोग मामिला मन्त्रालय तथा पश्चिम एसियाका महानिर्देशक अहमद अलहम्मसँग भेट गर्नुभयो । यी दुवै भेटमा दूतावासका द्वितीय सचिव कृष्ण अर्याल समेत सहभागी हुनुहुन्थ्यो ।
 
भेटघाटमा नेपालसँग सम्बन्धित कन्सुलर मामिला तथा द्विपक्षीय मुद्दाबारे छलफल भएको दूतावासले जनाएको छ ।
 
Published on: 23 February 2018 | Ujyaaloonline

Back to list

;