s

१५ वर्षपछि फर्कियो खुसी

६ वर्षको उमेरमा हराएका थिए विक्रम । घर ठेगाना र अभिभावकका बारेमा जानकारी दिन नसक्दा १५ वर्षसम्म भारतमा दु:ख भोगे। 

माधव ढुंगाना

हराएको छोरालाई १५ वर्षपछि आँखैअघि देख्दा ५० वर्षे बाबु डिल्लीराम पुन बोल्नै सकेनन् । ६ वर्षीय छोरा विक्रम हराएपछि उनले चारैतिर खोजे । भेटेनन्, केही उपाय नलागेपछि घरमै बसिरहेका थिए । बुधबार विक्रमलाई देखेपछि बाबु डिल्लीराममा खुसीको सीमै थिएन । उनी त्यो खुसी शब्दमा व्यक्त गर्न सकिरहेका थिएनन् । छोरालाई जिम्मा लिएको औपचारिक कागज गर्न जिल्ला प्रहरी परिसरमा पुगेका उनले भने, ‘जताततै खोज्दा खोज्दा फेला नपारेपछि आस मारिसकेका थियौं ।’ छेउमा विक्रमकी आमा रञ्जिता उसै गरी खुसीका आँसु झारिरहेकी थिइन् ।

विक्रमलाई केही दिनअघि भारतको दिल्लीमा कार्यरत प्रवासी नेपाली मित्र मञ्चले उद्धार गरी परिवारमा पुन:स्थापना गराएको हो । कलिलैमा बिछोडिएका विक्रम १५ वर्षपछि परिवारको सानिध्यमा आएका छन् । ६ वर्षको उमेरका हराएका उनलाई भारत पुर्‍याइएको थियो । ठेगाना र अभिभावकका बारेमा जानकारी दिन नसक्दा घर फर्किन सकेका थिएनन् ।
 
डिल्लीरामको परिवार म्याग्दीको बेनी नगरपालिका–३ भकेम्लीमा बस्छ । विक्रमलाई लिन बाबु, आमा र नातेदार रूपन्देहीको कोटिहवास्थित अविनाश अनाथ आश्रम पुगेका थिए । उक्त आश्रममै कार्यरत कर्मचारी पवित्रा विकको सहयोगमा पारिवारिक मिलन सम्भव भएको थियो । पवित्रा विक्रमकी छिमेकी हुन् । कलिलैमा बिछोडिएकालाई आश्रममा ल्याएपछि पवित्राले आफ्नो छिमेकमा पनि एक बालक वर्षाैंदेखि हराएको सम्झिइन् । उनले सोधीखोजी गरिन् । फोन गरेर विक्रमका बुवा डिल्लीरामलाई यसबारे बताइन् । डिल्लीरामले फोनबाटै जानकारी गराएको हुलिया र शरीरका चिह्न मिलेपछि अन्य प्रमाणसहित उनलाई बोलाइएको आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीले बताए ।
 
‘पन्ध्र वर्षपछि बावु–छोरा र आमाको भेट आश्रममै गरायौं,’ उनले भने । वैदेशिक रोजगारीबाट नेपाल फर्केपछि डिल्लीरामले काठमाडौंको गोगंबुमा होटल सञ्चालन गरेका थिए । त्यहाँ परिवारसहित बस्थे । २०६० साल जेठ ३ गते शनिबार खेल्ने क्रममा विक्रम सम्पर्कविहीन भएका थिए । लगत्तै आमाबाबुले सोधखोज गरे । उनीहरूले सोह्रखुट्टेस्थित प्रहरीमा पनि बालक हराएको जाहेरी दिएका थिए ।
 
आफ्नो सन्तान कसरी भारत पुग्यो भन्नेबारे जानकारी नभएको उनीहरूले बताए । प्रवासी मित्र मञ्चले गत शनिबार उत्तरप्रदेशको देवरियास्थित राजकीय बालगृहबाट उद्धार गरेको थियो।
 
Published on: 27 July 2018 | Kantipur

Back to list

;