s

१३ मजदुर पैसा लिन ६ दिन हिँडेर काठमाडौं आए, ठेकेदार बेपत्ता भएपछि अलपत्र

मकर श्रेष्ठ

काठमाडौँ — उनीहरु खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुलबुले खोलामा पुल बनाउने काम गर्थे । लकडाउनले काम रोकिएपछि एक महिना कामविहीन भएर छाप्रोमै बसे । काम गर्ने ठाउँ नै पानीले डुबेपछि काठमाडौंमा रहेका सगरमाथा/घिमिरेका ठेकेदार आशी राईलाई सम्पर्क गरे ।

ठेकेदारले बैंक बन्द भएकाले पैसा पठाउन नसक्ने जवाफ दिए । १३ जनाको २ लाख १५ हजार ज्याला लिन उनीहरु वैशाख १५ को बिहान ठेकेदारलाई भेट्न काठमाडौं हान्निए ।

बर्दिया बासगढी नगरपालिका-९ माछागढका वीरबहादुर रावतले नेतृत्व गरेको यात्रामा अनिल चौधरी, अर्जुन, अभिषेक, सुवास, गंगाराम, विकास, सुनिल, महेश, जगदीश, फकिरे, रामगोपाल र जंगबहादुर थिए । एउटै गाउँका उनीहरु सबै चौधरी हुन् ।

६ दिनको हिडाइँपछि शनिबार दिउँसो १ बजे उनीहरु काठमाडौंको गौशाला आइपुगे । शनिबार बिहानै सिन्धुलीको खुर्कोट आइपुगेका थिए । धन्न काठमाडौं आउने ट्रक भेटियो । चालकलाई गुहारेपछि जडिबुटी ल्याएर छाडिदिए । त्यसपछि हिँड्दै गौशाला आइपुगेका उनीहरु ठेकेदारको खोजीमा छन् ।

‘हिजो साँझ राईसँग कुरा पनि भएको थियो । काठमाडौं आउनेबित्तिकै फोन गर्नु भनेको थियो । आज त फोनै नलाग्ने गरेर बसेका छन्,’ गंगाराम चौधरीले भने, ‘अब घर जाऊँ खर्च छैन । काठमाडौं बसौं ठेकेदार भेटिँदैन ।’

उनीहरुले खोटाङ हुँदै पैसा पठाइदिन आग्रह गरेका थिए । तर, ठेकेदारले बैंक नखुलेकाले हिँडेर भए पनि आउन भनेको चौधरीले बताए । ठेकेदारले आफ्नो घर बसुन्धराको प्रहरी चौकीसँगै भएको उनीहरुलाई जानकारी दिएका रहेछन् । 

हिँडेर आउँदा उनीहरुले न राम्ररी खान पाएका छन्, न त सुत्नै । 'हामी रातदिन हिँडेर काठमाडौं आइपुग्यौं,’ उनले भने, ‘चाउचाउ खाँदै आइरहेका छौ । खाना नखाएको तीन दिन भयो । यसो आराम गर्न बस्यो कि निद्राले छोपिहाल्छ ।’ 

उनीहरु अलपत्र परेको बारे यो संवाददाताले काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीलाई जानकारी गराएपछि प्रहरीले पशुपति क्षेत्रमा खाना खुवाउने व्यवस्था गरे । पशुपति क्षेत्र विकास कोषले सुमार्गी भवनमा मजदुरहरुलाई नियमित खाना खुवाउने गरेको ठाउँमा उनीहरुलाई पनि खाना खुवाइएको हो ।

उनीहरु एउटै चाहना छ- ठेकेदार भेटेर पैसा लिने । तर, ठेकेदार सम्पर्कबाहिर छन् । ‘हामी पनि ठेकेदारको खोजीमा लागिरहेका छौं,’ प्रमुख ज्ञवालीले भने ।

Published on: 2 May 2020 | Kantipur

Link

Back to list

;