s

१२ सय नेपाली काठमाडौं ओर्लिए

काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार एकै दिन आन्तरिक र अन्तरराष्ट्रिय गरी २४ उडान भएका छन्। ती उडानमध्ये अन्तरराष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ। आन्तरिकमा पनि बुधबार १० उडान भएका छन्।

मङ्गलबार पनि अन्तरराष्ट्रियतर्फ १४ उडान भएको थियो। यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन्। विभिन्न मुलुकबाट उद्धार उडानमार्फत आज एक हजार २०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन्।  

विभिन्न एयरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम चार्टर्ड उडान गरी काठमाडौँ ल्याइरहेका हुन्। बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जेधाहबाट २२५ यात्रु र एक शव नेपाल ल्याएको छ। सोही एयरलाइन्सको जहाजले जापानको नारिताबाट १९ यात्रु ल्याएको छ। पुनः कुवेतबाट नेपाली ल्याउन त्यसतर्फ उडेको विमानस्थलले जनाएको छ।  

त्यस्तै हिमालय एयरलाइन्सले कुवेतबाट १५५, अबुधाबीबाट दुई उडान गरी क्रमशः १४९ यात्रु र तीन बच्चा र दुई यात्रु, दमामबाट १५४ र दोहाबाट २८२ यात्रु काठमाडौँ ल्याएको छ। श्री एयरलाइन्सले म्यान्माको यंगुनबाट नौ यात्रु र एक बच्चा ल्याएको छ भने दोस्रो चार्टर्ड उडानका लागि उक्त एयरलाइन्स म्यान्मा उडेको विमानस्थलले जनाएको छ।  

टर्किस एयरलाइन्सले स्तान्बुलबाट दुई चार्टर्ड उडानमा क्रमशः २८० र २८२ यात्रु काठमाडौँ ल्याएको छ। त्यसैगरी मलेसियन एयरलाइन्सले क्वालालम्पुरबाट दुई उडानमा क्रमशः सात र चार नेपालीको उद्धार गरी काठमाडौँ ल्याएको छ। बिहीबार पनि अन्तरराष्ट्रियतर्फ १३ उडान हुने कार्यतालिका सार्वजनिक गरेको छ। दोहा, दमाम, यङ्गुन, अबुधाबी, बहराइन, क्वालालम्पुर र जापानको नारितामा चार्टर्ड उडान हुने विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका १० उडान भएका छन्। मनाङ र सिम्रिक एयरका हेलिकप्टरले ओखलढुङ्गा, सोलुखुम्बु, वीरगञ्ज र गोर्खामा उडान भरेका छन् भने तारा एयरको जहाजले नेपालगञ्जमा दुई उडान गरेको छ।

Published on: 24 June 2020 | Annapurna Post

Link

Back to list

;