s

१२४ जनालाई टर्की पठाउने भन्दै ४ करोड ठगी

१२४ जनालाई टर्की पठाउने भन्दै करोडौं रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जना आरोपीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा कास्की पोखरा घर भई काठमाडौंको चाबहिल बस्ने ४२ वर्षीय विनोद श्रेष्ठ छन्।

एसएसपी सानुराम भट्टराईका अनुसार विनोदले टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने भनेका थिए। त्यहाँ गएर आकर्षक तलब पाइने भन्दै प्रलोभनमा परेर १२४ जना टर्की जान तयार भएका थिए।

युएन मिसनको कार्यालयमा मासिक १४५० डलर कमाइ हुने भनेर विश्वासमा परी चुच्चेपाटीको जमघट रेष्टुरेन्टमा विनोदले विदेश जान तयार भएकाहरूलाई भेट्ने गरेका थिए। त्यहाँ भेटेर विनोदले सुरूमा पीडितबाट ५० हजार प्रतिव्यक्ति लिने गरेका थिए।

अरूलाई विश्वासमा लिन सुरूमा चार जनालाई उनले भारतको दिल्लीमा पुर्‍याएका थिए। दिल्लीमा पुर्‍याएपछि भारतीय एजेन्टमार्फत् थप ३ लाख रुपैयाँ उठाएको अनुसन्धानबाट खुलेको हो।

रकम लिएपछि उनीहरूलाई १५ दिनसम्म होटलमै राखेको पाइएको हो। कोही पनि सम्पर्कमा नआएपछि उनीहरू भारतबाट नेपाल फर्किएका थिए। यसरी नै विनोदले १२४ जनाबाट ४ करोड ३४ लाख रुपैयाँ उठाएको पाइएको एसएसपी भट्टराईले जानकारी दिए।

यसरी थुप्रैलाई ठगी गरेको देखेपछि पीडितहरूले रिपोर्टर्स क्लबमा गएर पत्रकार सम्मेलन समेत गरेका थिए। त्यसपछि उनीहरू कार्यालयमा पुगेका थिए।

प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाएको बताएको छ।

Published on: 14 May 2024 | Setopati

Link

Back to list

;