s

श्रम स्वीकृति लिन जनकपुर आएका सेवाग्राही भन्छन् –काठमाडौंभन्दा पैसा र समय दोब्बर खर्चिनुपरेको छ

नेहा झा  

२ महिनामा ४ हजारभन्दा बढीले लिए पुनः श्रम स्वीकृति

जनकपुरधाममा पुनः श्रम स्वीकृतिका लागि प्रदेशस्तरीय कार्यालय स्थापना भएको दुई महिना भित्र ४ हजारभन्दा बढी सेवाग्राहीले सेवा लिएका छन्।

गत पुस १५ गते स्थापना भएको कार्यालयमा माघको अन्तिम सातासम्ममा ४ हजार ५ सय ६३ जना सेवाग्राहीले सेवा लिएका हुन्। तर, कार्यालयका कर्मचारीले समयमै काम नगरिदिँदा काठमाडौंभन्दा दोब्बर समय र पैसा खर्च हुँदै आएको सेवा लिन पुग्ने सेवाग्राहीको गुनासो छ।

काठमाडौंमा लगभग २ देखि ३ घण्टामा हुने काम यहाँबाट ३ देखि ४ दिनसम्ममा पनि गराउन कठिन हुँदै आएको सर्लाहीको हरिपुर्वाबाट पुनः श्रमस्वीकृति गराउन जनकपुरधाम आएका प्रविण झाले सेतोपाटीलाई बताए। ‘यहाँका कर्मचारीहरू लञ्च गर्न निस्किएपछि २-३ घण्टासम्म उहाँहरुको अत्तोपत्तो नै हुँदैन, हामी पैसा र समय दुबै खर्चेर भोक प्यास बिर्सेर बिहानैदेखि लाम बस्छौं तर उहाँहरुलाई कुनै फरक पर्दैन,’ उनले भने।

यता श्रम कार्यालयका प्रमुख नविनकुमार यादवका अनुसार कार्यालयबाट ढिलो काम हुनुमा कर्मचारी अभावनै प्रमुख कारण रहेको बताउँछन्। ‘हामीले टोकन सिस्टम लागू गरेका छौं। त्यसै अनुरुप सेवाग्राहीहरुलाई हामीले सेवा प्रदान गर्दै आएका छौँ,’ उनले भने। काठमाडौंको तुलनामा प्रदेशका कार्यालयमा कर्मचारी अभाव अत्याधिक रहेको भन्दै यादवले यस्ता समस्या सामान्य रहेको बताए। कर्मचारी अभावबारे आफूहरूले केन्द्रीय कार्यालयमा समेत पत्राचार गरिसकेको प्रमुख यादवले सेतोपाटीलाई जानकारी दिए। ‘कार्यालयमा सेवा लिन दैनिक २ देखि अढाई सयसम्मको हाराहारीमा आउने गर्छन्। तर, कर्मचारी संख्या भने कुल ९ जना मात्रै रहेका छन्,’ प्रमुख यादवले भने।

कम्तीमा २० जना कर्मचारीको आवश्यकता रहेको ठाउँमा नौ जनाले काम कसरी प्रभावकारी हुनू? उनले प्रश्न गरे। यदी कर्मचारीले ईमान्दारीपूर्वक काम गर्ने हो भने ४ दिनसम्म लाग्ने काम एक दिनमै पूरा हुने धनुषाको धनौजीकटैयाबाट पुनः श्रमस्वीकृति लिन पुगेका श्याम पासमानले बताए।

‘कर्मचारीले ईमान्दारितापूर्वक काम गरिदिए हामी सेवाग्राहीहरूको पैसाका साथसाथै समयको पनि बचत हुन्छ,’ उनले भने, ‘एक त हामी दुःख गरी परिवार चलाउन र दुई/चार पैसा जोहो गर्न विदेशिन खोज्छौं, त्यसमाथि समयमै काम नहुँदा गाडीभाडादेखि खानसम्मको खर्च हेर्ने हो भने काठमाडौंभन्दा दोब्बर खर्चिसकेका हुन्छौं। यहाँभन्दा राम्रो बरू काठमाडौंमै हुन्छ कम्ती समयको बचत त हुन्छ।’

श्रम स्वीकृति लिन प्रदेश दुईको आठ वटै जिल्लाबाट सेवाग्राही जनकपुर पुग्ने गर्छन्। त्यसमा पनि धनुषा र महोत्तरीबाट वैदेशिक रोजगारीमा जानेको संख्या अत्याधिक छ। महोत्तरीको भ्रमरपुरा गाउँबाट विदेशिनेको संख्या सबैभन्दा बढी रहेको तथ्याङ्क पाईन्छ।

Published on: 8 March 2019 । Setopati

Back to list

;