s

‘खाडी मुलुकमा महिला कामदार जान देऊ’

रामकला खड्का

झापाकी एक युवतीले साउदी अरेबिया, मलेसिया र कुवेतमा गरी झन्डै १० वर्ष काम गरिन्। बर्सैपिच्छे परिवारका ३ जनाको मृत्यु भएपछि उनी स्वदेश फर्कन बाध्य भइन्। घरम छाडेर गएकी ७ महिनाकी छोरीलाई टाइफाइडले उनीसँग खोसेर लग्यो। त्यसपछि आफ्नो कमाइमध्ये ४ लाखभन्दा बढी खर्चेर उपचार गर्दा पनि आमालाई बचाउन सकिनन्।

कुवेतबाट फर्किएपछि उनले दमकमा केही समय ज्यामी काम पनि गरिन्। तर दैनिक ४/५ सय रुपैयाँको कमाइले उनलाई खान र छोराछोरीको पढाइ खर्च बेहोर्न साह्रै कठिन भयो। घर खर्च टार्नै हम्मे परेपछि फेरि विदेशीने विचार गरिन् उनले। दमकबाट काँकडभित्ता, त्यसपछि भारतको बिहार अनि कलकत्ता हुँदै खाडी मुलुक जान उनले मणिपुर पुगिन्।

नेपाल-भारतको संयुक्त पहलमा केही दिनअघि भारतको मणिपुरबाट उद्धार गरेर गत मंगलबार स्वदेश फर्काइएकामध्ये एक हुन् उनी। छोराछोरी दुवैको डाक्टर बन्ने सपना पूरा गर्न उनीहरूलाई होस्टेलमा राखी उनी कुवेत हिँडेकी थिइन्। मणिपुरसम्म पुग्दा उनको २० हजार रुपैयाँभन्दा बढी खर्च भयो। उनले आफू कुवेत जान नपाएकोमा आक्रोशित हुँदै भनिन्, ‘अब यो खर्च कसले दिने ? ’ उनको आक्रोश खाडी मुलुकमा महिलालाई घरेलु कामदारमा जान लगाइएको प्रतिबन्धप्रति लक्षित थियो।

प्रहरीले उद्धार गरेपछि पनि उनीहरू १८ दिन भारतमै बस्नुपरेकोमा पनि उनीहरू आक्रोशित थिए। सरकारले बेवास्ता गरेको गुनासो उनले यसरी पोखिन्, ‘अरु देशका नागरिक समातिएका भए, त्यहाँको सरकारले २४ घण्टाभित्र स्वदेश फर्काइसक्थ्यो, तर हाम्रो सरकारले हामीलाई १८ दिनसम्म पनि वास्ता गरेन।’घर फर्काइए पनि उनको विदेशीने लक्ष्य यथावत् छ। जस्तोसुकै उपाय लगाएर भए पनि कुवेत गइछाड्ने उनले यसरी बताइन्, ‘कि सरकारले खाडी देशमा महिला कामदार जाने बाटो खोलोस्, होइन भने जुन बाटो हामी आयौं त्यही बाटो फेरि जाने हो। उता प्रहरीले समाते फेरि त्यही बाटो फर्केर नेपाल आउने हो।’

मणिपुरबाट उद्धार गरेर काठमाडौं ल्याइएका १ सय ७९ जनामध्ये दुबई जान लागेकी बिनिता गुरुङ (नाम परिवर्तन) पनि हुन्। उनी पनि ५ वर्ष लेबनान र २ वर्ष दुबईमा काम गरेर फर्केकी हुन्। नेपालबाटै जाने बारम्बार प्रयास गर्दा पनि सम्भव नभएपछि आफूले भारत हुँदै जाने बाटो रोजेको उनले बताइन्। मणिपुरको राजधानी इम्फाल पुगेको चौथो दिनमै उनी अन्य ३० जनासहित प्रहरीको रेडमा परिन्।

भारतको बाटो भएर जान उनको मन थिएन तर घर बनाउँदा लिएको ऋण सम्झेर उनी त्यस्तो निर्णयमा पुगेकी थिइन्। ४ सन्तान पालेर आमाबाबुको जिम्मेवारी निर्वाह गर्न रोजगारीका लागि दुबई हिँडेकी ४३ वर्षीया अर्की महिलाको दुःख पनि फरक छैन। बिदामा आएको ८ महिना बितिसक्दा पनि जान नपाएको गुनासो उनले गरिन्। उनले पनि १० वर्ष दुबईमा काम गरिसकेकी छन्। लामो समय विदेशमा काम गरेर त्यहाँको भाषा र काम दुवै जानेका आफूजस्ता महिलालाई सरकारले जान श्रम स्वीकृति दिनुपर्ने उनीहरूको माग छ।

उद्धार गरिएकामध्ये ९४ जना माइती नेपालमा र बाँकीलाई अन्य संस्थामा राखिएको थियो। उनीहरूलाई परामर्श दिएर र स्वास्थ्य उपचार गरेर संस्थाले पारिवारिक पुनर्मिलन कार्यक्रम अघि बढाएको छ। मंगलबारसम्म ५० प्रतिश महिलालाई परिवारमा पुनःस्थापना गरिसकिएको छ भने बिहीबारसम्म सबैलाई परिवारमै फर्काइसक्ने माइती नेपालका अध्यक्ष विश्वराम खड्काले जानकारी दिए। पारिवार सम्पर्कमा नआएका महिलालाई संस्थामै राखिने भएको छ।

Published on: 27 February 2019 । Annapurna Post

Back to list

;