s

१२ प्रतिशत नेपाली कामका लागि विदेशमा

राजु चौधरी

काम खोज्दै बिदेसिनेको संख्या ३० लाख नाघेको छ । उक्त तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०६९/७० ले देखाएको हो ।

सर्वेक्षणका अनुसार वैधानिक प्रक्रिया पूरा गरेर काम खोज्दै बिदेसिनेको संख्या करिब २७ लाख १४ हजार छ । यस्तै, करिब ३ लाख जना अनौपचारिक रूपमा कामका लागि बिदेसिएको तथ्यांकले जनाएको छ । औपचारिक र अनौपचारिक रूपमा बिदेसिनेहरू कुल जनसंख्याको १२ प्रतिशत हो । राष्ट्रिय जनगणनाका अनुसार कुल जनसंख्या २ करोड ६६ लाख छ । देशभित्र रोजगारीको अवसर नहुँदा दोस्रो जनआन्दोलनयता मात्रै २४ लाखभन्दा बढी बिदेसिए । यस वर्षको जेठसम्ममा यी कामदारले ३ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको रकम स्वदेश पठाएका छन् ।

सर्वेक्षणका अनुसार उद्योग सञ्चालन गर्न औद्योगिक वातावरणको अभाव, उद्योगमा सामाजिक सुरक्षा नभएको, समस्या समाधानतर्फ स्पष्ट नीति तथा कार्यक्रमको अभावले बिदेसिने संख्या बढेको हो । मुलुकमा रोजगारीको अवसरको सीमितता तथा युवाहरूको वैदेशिक रोजगारीलाई महत्त्व दिने प्रवृत्तिले वैदेशिक रोजगारीका क्षेत्रमा चाप बढ्दै गएको जनाएको छ । 

मुलुकमा बर्सेनि ४ लाख ५० हजार उत्पादनशील युवा रोजगारका लागि थपिने गरेका छन्  । यस्तै, के कति दक्ष बेरोजगार, अर्धबेरोजगार तथा बेरोजगार श्रमिकको संख्या यकिन हुन नसकेको सर्वेक्षणमा उल्लेख छ । 'तर, स्वदेशमा रोजगारीको अवसर एकदमै न्यून छ,' सर्वेक्षणमा भनिएको छ, 'कृषि क्षेत्रमा रहेको निर्भरताले मात्र समस्या समाधान हुन सक्दैन ।' यसका लागि लगानी बढाई व्यापक मात्रामा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने तथ्यांकले औंल्याएको छ । तर कृषिपछि बढी रोजगारी दिन सक्ने उत्पादनमूलक क्षेत्रको वृद्धिदर १ दशमलव ५ प्रतिशतमात्रै छ ।

वैदेशिक रोजगारका लागि संस्थागत रूपमा कामदार पठाउन खुला गरिएका मुलुकको संख्या १ सय ९ पुगेको छ । यी मुलुकमा आर्थिक वर्ष २०६९/७० को दोस्रो चौमासिकसम्म वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या २ लाख ७६ हजार ७ सय ८७ छ । जसमध्ये २ लाख ६० हजार ७४ जना पुरुष छन्  । १६ हजार ७ सय १३ जना महिला छन् । 

सर्वेक्षणका अनुसार आर्थिक वर्ष २०६८/६९ सम्म वैदेशिक रोजगारीका लागि नेपालीको पहिलो रोजाइ मलेसिया परेको छ । न्यूनतम तलबमा भएको वृद्धि र खाडी मुलुकभन्दा वातावरण राम्रो भएकाले मलेसिया नेपालीको पहिलो राजाइमा परेको हो । मलेसियामा करिब ७ लाख ७३ हजार ९ सय ४० जना नेपाली कामदार छन् । मलेसियापछि कामका लाग बढी गएको मुलुक कतार हो । कतारमा करिब ६ लाख ९० हजार ३ सय  ९५ जना नेपाली कामदार रहेका छन् ।

तेस्रोमा साउदी अरब रहेको छ । सर्वेक्षणका अनुसार साउदी अरबमा ४ लाख ९२ हजार ८ सय ९६ जना नेपाली कामदार छन् । यस्तै, सयुक्त अरब इमिरेट्स (युएई) नेपालीको श्रम गन्तव्य चौथोमा परेको छ । युएईमा ३ लाख १३ हजार ४ सय ६१ जना नेपाली कामदार कामका लागि गएका छन् ।

सर्वेक्षणका अनुसार राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनमा सरकारी लगानीमा विभिन्न बाधा अड्चनले लगानी हुन सकेको र निजी लगानी पनि यथेष्ट हुन नसकेकाले रोजगारीमा कमी भएको हो । वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्न सरकारले २०६३/६४ बाट कणाली अञ्चलमा 'एक परिवार एक रोजगार' कार्यक्रम सञ्चालन गर्दै आएको छ । २०६९ असार मसान्तसम्म ६९ हजार ९ सय ७६ घरधुरीमध्ये ७३ हजार ९ सय १३ बेरोजगार घर परिवारका सदस्य छन् । कार्यक्रमबाट आर्थिक वर्ष २०६८/६९ मा ५ सय ४१ वटा योजना (मोटरबाटो, विद्यालय भवन, साना तथा लघु जलविद्युत् मर्मत, फलफूल तथा जडिबुटी खेती) सम्पन्न भएको छ ।

यी योजनाबाट करिब ७ लाख ९६ हजार ५ सय १८ जना लाभान्वित छन् ।

यस्तै, चालू आर्थिक वर्ष २०६९/७० को प्रथम आठ महिनाको अवधिमा बेरोजगार परिवारको विवरण अद्यावधिक गर्ने, बेरोजगार परिवारका समूह गठन गरी निजले चयन गरेका योजना छनोट गर्ने गरेको छ । ती योजना सञ्चालनका लागि अनुमानित लागत तयार गर्ने, जिल्लामा कार्यरत सरकारी, संघ संस्थासँग समन्वय र एकीकृत गर्ने कार्य गर्दै ओजनाको कार्यान्वयनको काम भएको जनाएको छ ।

Published on: 14 July 2013 | Kantipur

Back to list

;