s

१२ कक्षा पास नगरी विदेश पढ्न जान सरकारले अनुमति नदिने

प्रशन्न पोखरेल

सरकारले १२ पास नगरी विदेशमा पढ्न जान नदिने भएको छ। एसईई उत्तिर्ण गरेका विद्यार्थी बंगलादेश, अष्ट्रेलिया, जापान, अमेरिकालगायत देशमा पढ्न जान स्वीकृति (नो अब्जेक्सन लेटर) लिने गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिन रोकेको छ।

शिक्षा मन्त्रालयका उपसचिव महेश्वर शर्माका अनुसार अबदेखि १२ कक्षा उत्तिर्ण गरेका विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने निर्णय भएको हो। ‘१२ कक्षा उत्तिर्ण भएकाहरूले मात्रै नो अब्जेक्सन लेटर पाउँछन्,’ शर्माले सेतोपाटीसँग भने, ‘ए लेवल पढ्न अनुमति दिइन्छ।’१२ कक्षासम्म माध्यमिक शिक्षा नै भएकोले विद्यालय शिक्षा सकेर उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने मन्त्रालयको निर्देशनमा उल्लेख छ।
 
‘पहिले कक्षा ११ र १२ लाई पनि उच्च शिक्षा भनिन्थ्यो। त्यही भएर नो अब्जेक्सन लेटर दिइएको हो,’ शर्माले भने, ‘संविधानअनुसार र ऐनअनुसार पनि १२ कक्षासम्म विद्यालय शिक्षा भइसकेको छ। त्यसैले १२ पास नगरी अब नो अब्जेक्सन लेटर पाइँदैन।’विदेश पढ्न जाने विद्यार्थीलाई अध्ययन स्वीकृति तथा विदेशी मुद्रा सटही सुविधाका लागि पनि नो अब्जेक्सन लेटर चाहिन्छ। स्वीकृति लिन चाहने विद्यार्थीले नागरिकताको फोटोकपी र शैक्षिक योग्यताका प्रमाणपत्रजस्ता आवश्यक कागजात बुझाएपछि नो अब्जेक्सन लेटर पाउँथे। मन्त्रालयले विद्यालय तहका विद्यार्थीलाई वैदेशिक अध्ययनमा जान कडाइ गर्न नो अब्जेक्सन लेटर दिने व्यवस्था बन्द गरिदिएको हो।
 
‘विद्यालय तहका विद्यार्थीलाई विदेश नपठाउने भन्ने नै हो,’ शर्माले भने, ‘विद्यालय तह (१२ कक्षा) पास गरेपछि स्नातक पढ्न जान स्वीकृति पत्र दिइन्छ।’स्नातक, स्नातकोत्तर र विद्यावारिधिलगायत पढ्न जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन कुनै बाधा नरहेको शर्माले बताए।
 
‘नितान्त डिप्लोमा मात्रै पढ्न जाने भन्नेलाई नो अब्जेक्सन लेटर बन्द भयो,’ उनले भने, ‘लेटर चाहिने हो भने १२ कक्षा पास भएको हुनुपर्छ। त्यो डिप्लोमा पढाइ उच्च शिक्षा भएन भन्ने पनि छ। विदेशमा कसैले ए लेवल पढ्यो तर स्नातक भर्ना हुन पाएको रहेनछ भने हामी नो अब्जेक्सन लेटर दिन्छौं।’कसैको व्यक्तिगत समस्या देखिएमा परराष्ट्र मन्त्रालय वा राजदूतावासको सिफारिस आए एसईई पढेर डिप्लोमा पढ्न चाहने विद्यार्थीलाई पनि नो अब्जेक्सन लेटर दिन सकिने उनको भनाइ छ। ‘विदेशमा परिवार छन् र त्यहीँ गएर पढ्नु पर्ने बाध्यता छ भने त्यस्ता समस्या हुनेलाई बाधा अड्काउ फुकाउन सकिन्छ,’ शर्माले भने, ‘तर सामान्यतया अब १२ कक्षा पास नहुनेलाई नो अब्जेक्सन लेटर दिन ऐनले पनि दिँदैन।’
 
१२ उत्तिर्ण नभएका विद्यार्थीलाई स्वीकृति नदिने निर्देशन कार्यान्वयनमा आइसकेको मन्त्रालयले जनाएको छ। शर्माका अनुसार कसैले नो अब्जेक्सन लेटर नलिई विदेशमा पढे भने पनि उनीहरु पछि नेपाल आएर काम गर्न योग्य हुन्छन् केही फरक पर्दैन।गएको आर्थिक वर्ष मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएर ७० हजार भन्दा बढी विद्यार्थी विभिन्न कोर्स पढ्न विदेश गएका थिए। यीमध्ये एमबिबिएस पढ्न जाने धेरै विद्यार्थी छन्। विदेशिएका विद्यार्थीहरू पढाइका साथै काम पनि गर्छन्।
 
Published on: 14 June 2019 | Setopati

Back to list

;