s

१५ वर्पषपछि निर्दोष ठहर

एक जापानी महिलाको हत्या अभियोगमा १५ वर्षदेखि थुनामा रहेका इलामका गोविन्दप्रसाद मैनाली अनुसन्धानमा निर्दोष देखिएपछि टोकियोस्थित उच्च न्यायालयको आदेशमा बिहीबार जेलमुक्त भएका छन् । न्यायलयले आदेश दिएपछि पनि सरकारी पक्षबाट वकालत गरिरहेका पेसाकर्मीको रिटका कारण जेलमुक्तबारे अन्योल दिनभर थियो । मैनालीका दाजु इन्द्रका अनुसार बिहीबारै जापानको कानुन मन्त्रालयले जारी गरेको पछिल्लो आदेशअनुसार उनलाई जेलमुक्त गरेर अध्यागमन केन्द्रमा राखिएको छ । 'अब आवश्यक कागजी प्रक्रिया पूरा गरेर गोविन्दलाई देश फर्काइने थाहा भएको छ,' इन्द्रले कान्तिपुरलाई भने ।  

हत्या अभियोगमा १९९७ को मार्चमा पक्राउ परेर थुनामा राखिएका मैनालीका पक्षधर वकिलले त्यही बेलादेखि यो मुद्दा पुनरावलोकन -रिट्रायल) का लागि आवेदन दिएका थिए । 'अहिले आएर बल्ल सुनुवाइ भएको छ,' मैनालीका दाजु इन्द्र मैनालीले कान्तिपुरसँग भने । बिहीबारको अदालती फैसलामा मैनालीलाई जेलमा राखिरहनु नपर्ने समेत बताइएको छ । एक यौनकर्मी महिला यासुको वातानावेको बलात्कारपछि हत्या गरिएको भन्दै गोविन्दलाई अदालतले सन् २००० को डिसेम्बरमा आजीवन कारावासको सजाय सुनाएको थियो । १९९४ को अपि्रलमा जापान गएका गोविन्द त्यसबेला २६ वर्षे उमेरका युवा थिए । 
 
गोविन्दका पक्षमा न्यायिक लडाइँ गर्न एक दशकदेखि सक्रिय रहेको 'जस्टिस फर गोविन्द मुभमेन्ट' र एक नेपाली नागरिकले अनाहकमा बेहोरेको जेल सजायबारे राष्ट्रिय-अन्तर्राष्ट्रिय तहबाट आवाज उठेपछि गत वर्ष अदालतले मैनालीको डीएनए परीक्षण गर्न सहमति दिएको थियो । 
 
ओसाका विश्वविद्यालयका प्राध्यापक सुजुकीको टोलीले मृतकको घटनास्थलमा भेटिएको वीर्य, थुक, रगतसहितका १५ वटा प्रमाणसँग तुलना गरेर मैनालीको डीएनए परीक्षण गरेका थिए । तर पुराना प्रमाणहरूसँग मैनालीको डीएनएसँग नमिल्दो रहेपछि अदालतले मैनालीलाई थुनामा राखिरहनाबारे कानुनी प्रश्न खेप्दै आएको थियो । 'यतिका वर्षपछि न्यायको आवाज सुनेजस्तो लागेको छ,' श्रीमान्बारेको अदालती निर्णय सुन्न टोकियो पुगेकी इन्द्रकी श्रीमती राधाले विदेशी सञ्चारकर्मीहरूमाझ भनेकी छन्, 'यसबीचमा एउटा परिवारले खेपिरहेको तनाव र मानसिक प्रताडनाकाबारे पनि अब प्रश्नहरू उठ्नु जरुरी छ ।'
 
१५ वर्षअघि पक्राउ गर्दा सुरुमा ओभरस्टे कारण भन्ने र पछि महिला हत्या प्रकरणमा जोडिनुलाई धेरैले सुरुकै दिनदेखि 'शंकास्पद दृष्टि'मा हेरेका थिए । 
 
यही प्रकरणमा २००० को अपि्रलमा जापानको जिल्ला अदालतले मैनालीलाई निर्दोष ठहर गर्दै जेलमुक्त गर्न आदेश दिएको थियो । तर अध्यागमन कक्षबाट फेरि पक्राउ गरेर उनलाई थुनामा लगिएको थियो । 
 
जापानजस्तो समृद्ध र प्रजातान्त्रिक देशमा एक नेपाली नागरिकले बेहोरेको कानुनी उल्झन र अनाहकको जेलसजाय बारे चासो राख्दै मानव अधिकारकर्मीसामु कुरा उठाउँदै आएका पत्रकार विष्णु निष्ठुरीले अबका दिनमा मैनालीले बेहोरेको सास्तीको क्षतिपूर्तिबारे प्रश्न उठाइने बताए । 
 
मैनालीका आफन्त समेत रहेका पत्रकार निष्ठुरीले १५ वर्षसम्म गोविन्द र उनको परिवारले बेहोरेको मानसिक प्रताडनाको लेखाजोखा हुनु जरुरी रहेको बताए । 
 
एउटा सामान्य व्यक्तिको जीवन र उमेरलाई तहसनहस बनाउने गरी गोविन्दले सहनुपरेको प्रताडनाका कारण पनि 'आवश्यक क्षतिपूर्ति'को प्रक्रिया अघि बढाउनु जरुरी हुने उनको धारणा छ । आफ्ना बुबाबारेको अदालती निर्णय सुन्न मैनालीका दुई छोरी मिथिला र अलिसा पनि टोकियो पुगेका छन् । 
 
एक नेपाली नागरिकले १५ वर्षदेखि बेहोरेको अनाहकको कानुनी सास्तीबारे नेपाल सरकार, परराष्ट्र मन्त्रालय र टोकियोस्थित नेपाली दूतावास भने 'अनविज्ञ' सरह रहीआएको थियो । 
 
Published on: 8 June 2012 | Kantipur 

Back to list

;