s

१२ वर्ष बँधुवा मजदुर बनेका जब स्वदेश फर्के

जनकराज सापकोटा

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट बाहिरिँदै गर्दा जब उनले एक कुनामा आमालाई देखिन्, तब सम्हाल्नै सकिनन् । परबाटै हुर्रिंदै आएर आमाको अँगालोमा आफूलाई चरप्प कसिन् अनि भक्कानिँदै भनिन्, ‘आमा मैले तिमीलाई दिन केही सकिनँ, खाली हात फर्किएँ ।’

आशा मारिसकेकी छोरीलाई १२ वर्षपछि आफ्नै आँखाअघि रोइरहेको देख्दा आमाका आँखा त्यसै रसाए । तर उनले आफूलाई सम्हालेझैं गरेर भनिन्, ‘मलाई छोरी भए पुग्छ, मेरो सम्पत्ति भनेकै तिमी हौं ।’ 

मंगलबार साँझ विमानस्थलको आगमन कक्षबाहिर फरक दृश्य देखियो । सुटकेस लतार्दै बाहिरिएका यात्रुलाई फूल र खादा लगाएर स्वागत गर्नेको भीडमा थिइन्, सजिता लामा र उनकी आमा बृहस्पति । त्यहीं थिए, साल्मोमाया मोक्तान र उनकी आमा माइलीमाया । सजिता जसरी नै साल्मो पनि आगमन कक्षबाट बाहिरिनेबित्तिकै आमाको अँगालोमा बाँधिइन् । साल्मो र उनका आमा धेरैबेरसम्म अँगालोमै कस्सिए । १२ वर्ष लामो बिछोडको न्यास्रो उनीहरू आँसुमार्फत साटिरहेका थिए ।

२०६७ असोज ४ मा वैदेशिक रोजगारीका लागि लेबनान उड्दा ९ कक्षामात्रै पढेकी जोरपाटी नयाँबस्तीकी सजिता २० वर्ष पनि टेकेकी थिइनन् । बाबुको मृत्युपछि उनलाई सौतेनी आमाले वैदेशिक रोजगारीका लागि लेबनान पठाउने प्रबन्ध मिलाइदिएकी थिइन् । लेबनान पुगेर काम थाल्दा उनको मासिक तलब जम्मा डेढ सय डलर अर्थात् करिब १६/१७ हजार रुपैयाँ मात्रै थियो । घरधनीले घरेलु कामदारलाई बैंकिङ प्रणालीमा पहुँच नदिने भएकाले उनले तलब बुझ्नेबित्तिकै घर पठाइहाल्थिन् । कामका सुरुवाती दिनमै उनी दैनिक १५ घण्टाभन्दा धेरै घरको काममा खटिन्थिन् । खान र सुत्नको कुनै ठेगान थिएन । जति घोटिएर श्रम गरे पनि केही महिनापछि उनलाई घरधनीले नियमित तलब दिन छाडे । दुई वर्षको श्रम स्वीकृति सकिएपछि भने उनले तलब पाउन छाडिन् । भिसाको अवधि सकिएपछि घरधनीले सामान चोरेर भागेको भन्दै सजिताविरुद्ध प्रहरीमा उजुरी दिए । त्यसपछि सजितालाई बन्धक बनाएर १० वर्षसम्म बँधुवा मजदुरकै हैसियतमा काम लगाइरहे ।

सजिता बेलाबखत घरधनीको आँखा छलेर आमासँग आफ्नो मनको बह पोख्दै रुन्थिन् । बदलामा आमा बृहस्पति रोएरै छोरीलाई सम्झाउँथिन् । सजिताका काका सोम लामाले २०७३ फागुन १२ मा भतिजीको खोजी गरिपाऊँ भनेर परराष्ट्र मन्त्रालयको कन्सुलर विभागका लिखित निवेदन पनि दिए । कन्सुलरले आवश्यक प्रक्रिया चाले पनि सजिताको उद्धारका निम्ति गम्भीर पहल चालेन । 

काका सोमले दुखेसो सुनाए, ‘आफ्नो नागरिकले नरकजस्तो जीवन बिताएको थाहा पाउँदा पनि राज्यले पत्राचार मात्रै गरेर प्रक्रिया पूरा गर्‍यो ।’ 

सजिताको भन्दा धेरै फरक कथा छैन, काभ्रेको महाभारत–७ स्थायी घर भएकी साल्मोमाया मोक्तानको । चार कक्षा मात्रै पढेकी साल्मो चाबहिलमा मामा गणेश लोसँगै बसेर गलैंचा फ्याक्ट्रीमा काम गर्थिन् । थोरै तलब र घरको दुःख सम्झेर उनी लेबनान जान तयार भइन् । गाउँका चिनेजानेकै एक जनाले उनलाई २० हजार रुपैयाँ लिएर घरेलु कामदारका रूपमा लेबनान पठाइदिए । त्यसपछि सजिताको जस्तै उनले श्रम स्वीकृति दुई वर्षसम्म नियमित तलब त पाइन् तर त्यसपछिका दस वर्ष घरेलु बँधुवा मजदुरको हैसियतमा श्रम गर्न बाध्य भइन् ।

लेबनानमा रहेका घरेलु कामदारको अधिकारको विषयमा पैरवी गर्दै आएको समूह ‘दिस इज लेबनान’ले सजिता र साल्मोलाई घरधनीले वर्षौंदेखि बन्धक बनाएर चर्को श्रम शोषण गरेको कुरा बाहिर ल्यायो । उनीहरूलाई बन्धनमुक्त बनाउन सामाजिक सञ्जालदेखि कूटनीतिक निकायहरूमा पनि पैरवी सुरु गर्‍यो । सजिता र साल्मोको न्यायको पक्षमा चौतर्फी आवाज उठ्न थाल्यो । ९ भदौमा सजिताले ११ बँधुवा मजदुर रहेको घरबाट मुक्ति पाइन् । त्यसलगत्तै साल्मो पनि घरेलु बन्धकबाट मुक्त भइन् । त्यसपछि सजिता र साल्मोले झन्डै सात महिना कारितास लेबनान नामक गैरसरकारी संस्थाको सेल्टर हाउसमा बसे ।

दुवैको उद्धारमा सक्रिय दिस इज लेबनानका संस्थापक दिपेन्द्र उप्रेतीका अनुसार महिनौंसम्म कूटनीतिक र न्यायिक पहल गर्दा पनि न्याय दिलाउन नसकिएपछि उनीहरूलाई नेपाल झिकाइएको हो । उनका अनुसार सजिताका घरधनी रिचर्ड खौरे १० वर्षभन्दा लामो समय सजितालाई जबर्जस्ती काममा लगाएबापतको पारिश्रमिक दिन तयार देखिएनन् । ‘सजितालाई न्याय दिलाउन कानुनी उपचार थालिइसकिएको छ,’ उप्रेतीले भने ।

नियमअनुसार तलब हिसाब गर्दा सजिताले कम्तीमा ३० लाख हाराहारी पाउनुपर्ने थियो । तर मंगलबार नेपाल ओर्लिंदा उनको हातमा सानो झोलाबाहेक एक रुपैयाँ पनि थिएन । सजिताको उद्धारमा खटिएका उप्रेतीले उनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरे । सजिताकी आमा बृहस्पतिले छोरीबिना बिताएका १२ वर्ष सम्झिँदा आफूलाई अहिले पनि कहाली लाग्ने बताइन् । उनले भनिन्, ‘सुरुसुरुमा त छोरीसँग कुरा गर्दा दुवै रुन्थ्यौं । त्यतिबेला मुटु चिरिएर आउँथ्यो ।’ आफूलाई घरधनीले कुटपिट गर्ने गरेको बताउँदा आमाले भागेर जान सुझाउँथिन् ।

साल्मोका घरधनी भने संस्थाले निरन्तर पहल गरेपछि ४ हजार डलर तलब दिन तयार भए । उनले बाँकी ४ हजार डलर ६ महिनापछि दिने वाचा गरेका छन् । उप्रेतीले भने, ‘वर्षौंदेखि बँधुवा मजदुर भएर काम गर्दा उनीहरूले न्याय र क्षतिपूर्ति त पाएनन् नै तलबसमेत पाएका छैनन् ।’

दिस इज लेबनानका अनुसार अरू केही नेपाली घरेलु महिला कामदार बन्धककै अवस्थामा छन् । समूहले अहिले सिन्धुपाल्चोकको जुगल–२ की बनमाई दोङको उद्धार प्रक्रिया सुरु गरेको छ । वनमाई पनि झन्डै १२ वर्षदेखि लेबनानमा घरेलु कामदारका रूपमा बन्धक छिन् । गत वर्ष चैत १२ मा उनको उद्धारका लागि वडाध्यक्ष प्रताप लामाले परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा निवेदन दिएका थिए । 

वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका महिलाको उद्धार र अधिकारका निम्ति पैरवी गर्दै आएको पौरखी समूहकी रणनीतिक सल्लाहकार मञ्जु गुरुङ सरकारले घरेलु कामदारमा जाने महिलालाई प्रतिबन्ध मात्रै लगाएर यस्ता समस्याको समाधान नहुने बताउँछिन् ।

सरकारले वैदेशिक रोजगारीमा जाने महिला श्रमिकको सुरक्षा गर्ने भन्दै २०६९ साउनमा ३० वर्षभन्दा कम उमेरका महिलालाई साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्समा घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लगाएको थियो । २०७२ मा सरकारले निर्देशिका जारी गरेर २४ वर्षमुनिका महिलालाई वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगायो भने २०७३ चैत ३ देखि लागू हुने गरी खाडी मुलुकमा घरेलु काममा महिला पठाउन रोक लगायो ।

घरेलु काम गर्न विदेश पुगेका महिलाले भोगेका सयौं दुर्दान्त कथामध्ये सजिता र साल्मोको कथा प्रतिनिधि घटनामात्रै गुरुङ बताउँछिन् । प्रतिबन्ध लगाएपछि सबै समस्या समाधान हुन्छ भन्ने राज्यको गैरजिम्मेवार सोचका कारण यस्ता घटना बारम्बार निम्तिरहेको उनको भनाइ छ । ‘श्रम गन्तव्यमा कूटनीतिक नियोग नै नहुने र भएका नियोगले पनि प्रभावकारी काम नगर्दाको परिणाम महिला कामदारले भोगिरहेका छन्,’ उनल भनिन् ।

Published on: 16 February 2022 | Kantipur

Link

Back to list

;