s

१२ वर्षपछि डोल्मा घर फर्कंदै

देवेन्द्र भट्टराई
 
कुवेतमा घरेलु कामदार रहेकै बेला सहकर्मी फिलिपिनो युवतीको हत्या अभियोगमा जेलसजाय बेहोर्दै आएकी सिन्धुपाल्चोक, तेम्बाथाङकी डोल्मा शेर्पा यसै महिना घर फर्कंदै छिन् । डोल्माले १० वर्ष लामो जेल सजाय जुन २० (असार ६) मा भुक्तान गर्दैछिन् । त्यसलगत्तै कुवेत सरकारको घर फिर्ती प्रक्रिया (डिर्पोटेसन) अनुसार डोल्मा घर फर्कन लागेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
 
‘सामान्यतया डिर्पोटेसन मामलाबारे हामीलाई जानकारी गराइन्न,’ दूतावासका द्वितीय सचिव भोगेन्द्र लिङदेनले कान्तिपुरसँग भने, ‘उपलब्ध रेकर्डअनुसार यो जुन २० मा डोल्मा जेलमुक्त हुनेछिन् । त्यसपछिको प्रक्रियामा घरफिर्ती केन्द्र (डिर्पोटेसन सेन्टर) हुँदै नेपाल फिर्नेछिन् ।’ उनी यो प्रक्रिया सकेर कति दिनमा घर आइपुग्छिन् तोकेर भन्न नसकिने उनले जनाए ।
 
३९ वर्षीया डोल्मा तीनवर्षे छोरो श्रीमान् आङतेन्जी शेर्पाको जिम्मा लगाएर १२ वर्षअघि कुवेत गएकी थिइन् । २००७ जुन २० देखि जेलमा रहेकी डोल्मालाई कुवेतको उच्च अदालतले २००८ डिसेम्बर २३ मा सहकर्मी हत्या गरेको पुष्टिसहित मृत्युदण्ड सजाय सुनाएको थियो । नेपाल सरकारको आग्रह र ‘डोल्मा बचाउ’ अन्तर्राष्ट्रिय अभियानपछि उनको मृत्युदण्ड सजाय १० वर्षे जेलसजायमा रूपान्तरण भएको थियो । इस्लामिक कानुनअनुसार हत्या गरिएकाको परिवारले ‘ब्लड मनी’ (हत्या गरिएबापत तिराइने रगतको मूल्य) स्विकारेपछि डोल्माको कठोर सजाय मिनाहा भएको थियो । ब्लड मनी बुझाउन नेपाल सरकारले ४ हजार डलर दिएको थियो भने बाँकी अन्तर्राष्ट्रिय नेपाली समुदायबाट उठाइएको थियो ।
 
डोल्मालाई मृत्युदण्ड सुनाइएको खबरलगत्तै खाडी क्षेत्रमा बिनाअनुमति वा सरकारी प्रक्रियाबिनै जाने नेपाली महिलाको सरोकार नेपालमा सदनदेखि सडकसम्म छलफलको विषय बनेको थियो । पछिल्लो तथ्यांकमा खाडीको कुवेतमा मात्रै ६१ हजार नेपाली कामदार रहेकामा २३ हजार घरेलु कामदार महिला छन् ।
 
दूतावासका अनुसार कुवेतका जेलमा हाल ५२ जना नेपाली छन् । तीमध्ये ३ जनालाई मृत्युदण्ड, १४ जनालाई आजीवन कारावास र अन्यलाई बढीमा १५ वर्षको जेलसजाय सुनाइएको छ । १ देखि १५ वर्षसम्म जेलसजाय बेहोर्ने महिलाको संख्या ८ छ । थुनामा परेका मध्ये अधिकांश लागूपदार्थ कारोबार अभियोग बेहोरिरहेका छन् । ‘दूतावासबाट हालै दुईपटक जेल निरीक्षणमा गएका थियौं,’ लिङदेन भन्छन्, ‘तर, डोल्मा शेर्पा भने हामीलाई भेट्नै आउनुभएन । उहाँ दूतावासका प्रतिनिधिलाई भेट्नै चाहनुहुन्न ।’
 
डोल्माले फोनमार्फत दूतावासका अर्का एक अधिकारीलाई दिएको जानकारीमा उनी आगामी साता जेलमुक्त हुने कुरामा जानकार छिन् । डोल्माका श्रीमान आङतेन्जी अहिले इराकको कुर्दिस्तानमा एक होटलमा कार्यरत छन् भने उनीहरूको छोरोलाई एक हितैषीले शिक्षादीक्षासहित हेरदेख गरिरहेका छन् । नेपाल फिरेपछि डोल्माले गोरखा, चुम उपत्यकास्थित माइतीघर अथवा सिन्धुपाल्चोकको श्रीमान घर जानेबारे निधो गरिनसकेको दूतावासका अधिकारीले बताए । काठमाडौंमा रहेका केही महिला उद्धारक संघसंस्थाले डोल्माबारे सरोकार राखे पनि उनका आफन्त डोल्माबारे ‘बेखबर’ झैं छन् । 
 
कुवेतमा घरेलु कामदारमाथि भएको श्रमशोषण र बढदो गैरकानुनी कामकारबाहीलाई आधार मानेर नेपाल सरकारले २०१४ मार्चदेखि घरेलु काममा श्रम स्वीकृति दिन बन्द गरेको छ । तैपनि लुकिछिपी अथवा भारतको बाटो भएर जाने महिलाको संख्या ठूलै छ । बिनाविभागीय मन्त्री एवं संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका तत्कालीन सभापति प्रभु साहले दुई महिनाअघि कुवेत भ्रमण गरेर फर्केपछि घरेलु कामदारको भिसा तत्काल खोल्नु नहुने सुझाव सरकारलाई दिएका थिए । उनले घरेलु काममा गएर छुट्टीमा घर फिरेका महिलालाई समेत पुन: श्रम स्वीकृति नदिन सिफारिस गरेपछि कुवेत जानेको वैदेशिक रोजगारी ‘ट्रेन्ड’ सुस्त बनेको छ ।
 
डोल्मा पनि भारतको बाटो हुँदै अवैध रूपमा कुवेत गएकी थिइन् । कुवेत पुगेको केही महिनामा कुवेती मालिकको घर फेर्ने क्रममा भगौडा भएर बसिरहेकी उनले तनाबका बेला फिलिपिनो युवतीको हत्या गरेको प्रकरण उब्जिएको थियो । उनी कुवेत पुगेर बेहोरेको हैरानी र घरपरिवारको कथानक जोडेर निर्देशक केसाङ छेतेनले बनाएको ‘सेभिङ डोल्मा’ वृत्तचित्र चर्चामा छ । 
 
Published on: 15 June 2017 | Kantipur

Back to list

;